धरान : धरानमा हिरा रिजालद्वारा लिखित 'म बाँस हुँ' नामक कविता संग्रह विमोचन भएको छ ।

असोज ३ बुधबार धरान-१२ को पब्लिक हाई स्कुलको सभा हलमा एक समारोह बिच उक्त कविता संग्रहको विमोचन गरिएको थियो । प्रमुख अतिथि धरानका पूर्व प्रधानपञ्च तथा कवि वम देवान, १०० वर्ष पुरा भएका शताब्दी पुरुष नरबहादुर लिम्बु, प्राध्यापक हरिबहादुर विष्ट, परिचर्चाकार राजेश विद्रोही, प्रा.डा.राजेन्द्र शर्माले उक्त संग्रहको सामूहिक रूपमा विमोचन गरेका थिए ।

लेख लख्ने क्रममा देशको समसामयिक राजनीतिक अन्योलको परिस्थितिले आफूलाई कविता लेख्न बाध्य बनाएको कवि हिरा रिजालले बताए । आफूले सुरुमा आफ्ना रचनाहरू फेसबुक मार्फत सम्प्रेषण गर्दा धेरैले मन पराए । साथीहरूले कविता लेख्न प्रोत्साहन गरेपछि यो कविता संग्रह प्रकाशन गर्न सफल भएको रिजालले बताए । कोशी साहित्य चौतारी धरान सुनसरीले प्रकाशन गरेको उक्त कविता संग्रहमा ८३ वटा कविताहरू समेटिएको छ ।

२००५ सालमा परेवादिन, हाल छथर जोरपाटी धनकुटामा जन्मिएका रिजालको माता महादेवी रिजाल र पिता काली प्रसाद रिजाल र श्रीमती सुशीला रिजाल हुन् । धरान-१२ मा स्थायी घर भएका उनी मनमोहन अधिकारी स्मृति संस्था, धरानको अध्यक्ष छन् ।

कविता सङ्ग्रहमाथि समालोचना महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेश विद्रोहीले कविता संग्रहमा राजनैतिक, सामाजिक, संस्कृति, पारिवारिक विकृति र विसङ्गतिलाई औल्याउदै सही मार्ग निर्देशन गर्ने प्रयास गरेको बताए । धेरै सन्देश छोटो कवितामा समेट्न सक्नु कविको मुख्य खुबी रहेको पनि विद्रोहीले औँल्याएका थिए ।

विद्यार्थीको अवस्था देखि सामाजिक राजनैतिक अभियानमा जुझारु रहेको कवि हिरा रिजालले ७५ वर्षको उमेर कविता संग्रह प्रकाशन गरेर ज्येष्ठ नागरिकले पनि सृजना गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरिदिएको ज्येष्ठ नागरिक सञ्जाल धरानका अध्यक्ष प्राध्यापक हरिबहादुर विष्टले बताए । रिजाल महेन्द्र बहुमुखी क्याप्सन स्वतन्त्र विद्यार्थी युनियनको २०२५/२६ सालमा सभापति भएको र २०२९/३० सालमा कलेज बचाउ समितिको महासचिव भएर काम गरेको र कवि रिजाल २०४७ देखि ५० सम्म नयाँ परिवर्तन साप्ताहिकका सम्पादक भएको विष्टले जानकारी गराएका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक नगर सञ्जालका अध्यक्ष हरि बहादुर विष्ट र शिक्षा सेवी मोहन श्रेष्ठले खदाले सम्मान गरेका थिए ।

प्रमुख अतिथि कवि वम देवानले कविको कविता उच्च स्तरको देशको राजनीति र समाजलाई सुधार्न सन्देश दिएको कुरा व्यक्त गरेका थिए । साथै लेखन कार्यलाई निरन्तरता दिन कविलाई शुभकामना व्यक्त गरेका थिए ।

कविता संग्रह माथि कवि भिष्म काफ्ले लगायतले परिचर्चा गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक, राजनैतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्रा.डा. राजेन्द्र सर्माले गरेका थिए ।

kabita sangraha 2