विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता विनोद ढकाललाई राम्रोसँग चुनाव गराएको भन्दै धन्यवाद दिएका छन् ।

नवनिर्वाचित प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बुधवार बिहान विराटनगर आइपुगेका ओलीले विमानस्थलमा ढकाललाई धन्यवाद दिए । ओली विमानस्थलमा ओर्लिएपछि ढकाल पनि अन्य नेताहरूसँगै स्वागत गर्न पुगेका थिए ।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडासँग ८२ मतले पराजित भएका ढकाल पार्टीका अन्य नेताहरूसँगै ओलीलाई स्वागत गर्न लाइनमा भने बसेका थिएनन् । लाइनमा उभिएका अन्य नेताहरूले माला र खादा लगाइदिइरहँदा ढकाल भने विशिष्ट कक्ष प्रवेशद्वार नजिकै ओलीलाई पर्खिइरहेका थिए । उनले अन्तिममा त्यहीँ स्वागत गरे ।

ओलीले अध्यक्षमा पराजित ढकाललाई केही क्षण नियाल्दै भने, ‘राम्रोसँग चुनाव गराउनु भएकोमा धन्यवाद छ।’ ओलीले धन्यवाद दिएपछि ढकाल भने मुसुक्क हाँसेका थिए ।

अध्यक्षको आकाङ्क्षी भएर निर्वाचन लडेका पार्टीका केन्द्रीय सदस्य ढकाललाई ओलीले प्रदेश कमिटीमा नउठ्न आग्रह गरेका थिए । ओलीले अध्यक्षमा निर्वाचित खतिवडालाई नै समर्थन गरेका थिए । पार्टी अध्यक्ष ओलीको आग्रह विपरीत ढकाल प्रतिस्पर्धामा उत्रिएका थिए ।

नेकपा एमाले कोशी प्रदेशको २१५ सदस्यीय नयाँ कमिटीको निर्वाचनको मत परिणाम बुधवार बिहान मात्रै सार्वजनिक भएको हो । नवनिर्वाचित कमिटीलाई शपथ गराउन विराटनगर आइपुगेका एमाले अध्यक्ष ओलीले अधिवेशन सम्पन्न भएर कमिटी समेत निर्माण भइसकेकोले पार्टीभित्र देखिएको समूहगत निर्वाचन सकिएर पार्टी संस्थागत भइसकेको दाबी गरे ।

कोशी प्रदेशमा अहिले मध्यावधि निर्वाचनमा जानु उचित नहुने बताए । उनले अन्य राजनीतिक दलहरूले संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको वर्तमान सरकारलाई समर्थन नदिए उपधारा (५) को अनिश्चिततिर जाने दाबी गरे ।

‘५ मा गयो भने एउटा खुड्किलो मात्रै रहन्छ, त्यहाँबाट चिप्लियो भने मध्यावधितिर गयो' उनले भने, ‘मध्यावधिमा गयो भने पनि हामीलाई चिन्ता छैन, एमाले जुनसुकै चुनावमा हच्किने भाग्ने होइन, तर अनावश्यक खर्च र अस्थिरताजस्ता कुराहरूमा नजाऔँ ।’