विराटनगर : कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मध्यावधि निर्वाचन रोक्न केदार कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गरेको बताएका छन् । पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली काँग्रेसको संस्थापन पक्ष तयार नभएपछि काँग्रेस सांसद कार्कीलाई समर्थन गरेको बताए ।

संविधान अनुसार मुख्यमन्त्री कार्कीले आवश्यक सांसदको हस्ताक्षर लिएर आएपछि एमालेले संस्थागत रूपमा सहयोग गरेको प्रस्ट पारे । संविधानमा उल्लेखित धारा अनुसार सरकार गठनको अन्तिम विकल्पको रूपमा केदार कार्कीलाई  समर्थन गर्न बाध्य भएको उनको धारणा छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा उनले  पटक पटक सरकार फेरिने अवस्था सृजना नहोस् भन्नको लागि कार्कीलाई विश्वासको मत दिएको बताए ।

अहिलेको संविधानबाट सङ्घीयता झिकिदिने हो भने संविधान खारेज हुने बताउँदै एमाले नेता कार्कीले  सामाजिक सद्भाव भड्काउने काम भइरहेको प्रति सचेत गराए । एकले अर्कालाई निषेध गर्दा यस्तो अवस्था आइपुगेको उनले बताए । बजेटको मुखमा सरकार गिराउने काम भएको आक्रोश व्यक्त गरे ।