विराटनगर : कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सहित २ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका राम बहादुर मगर र काङ्ग्रेसका समसेर राई मन्त्री नियुक्त भएका हुन् । मन्त्रालयको जिम्मेवारी नदिई मन्त्री पदमा शपथ गराइएको हो । 

संविधानको धारा १६८ (५) अनुसार एमालेको समर्थनमा कार्की मुख्यमन्त्री चयन भएका हुन् । काँग्रेसका ८ सहित एमालेका ३९ सांसदको हस्ताक्षरमा कार्कीले बहुमत पुर्‍याएका थिए ।

मुख्यमन्त्री शपथ समारोहमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की लगायत पूर्व मुख्यमन्त्री उद्धव थापाको उपस्थिति थियो । कार्कीसँगै मुख्यमन्त्री दाबी गरेका माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो भने उपस्थित भएनन् । गठबन्धनको तर्फबाट मुख्यमन्त्री दाबी गरेका आङ्बो बहुमत पुर्‍याउन नसकेपछि मुख्यमन्त्री बन्न पाएनन् ।