इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले १ गते बुधवार विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई अनुरूप कार्कीले विश्वासको मत लिएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेपाली काँग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सहित ४७ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश सभामा उपस्थित ९१ सांसद मध्ये कार्कीको पक्षमा ८६ र विपक्षमा मत ५ खसेको हो ।

नेपाली काँग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री भएका उनलाई काँग्रेसले संस्थागत निर्णय गरेर विश्वासको मत दिएको छ । काँग्रेस सहित एमाले, माओवादी केन्द्र, नेकपा एस र जसपाले विश्वासको मत दिएका छन् । राप्रपाले भने विपक्षमा मतदान गरेको छ ।

यसअघि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सभाध्यक्षको मतलाई दुरुपयोग गरेपछि सर्वोच्च अदालतले बरखास्त गरेको थियो । उपधारा २ अनुसार दुई पटक मुख्यमन्त्री भएका थापाले दुवै पटक सभामुख/सभाध्यक्षको मतको दुरुपयोग गरेको अदालतको ठहर छ ।

अन्तिम पटक अदालतले थापालाई पदमुक्त गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले राजीनामा दिएपछि उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री चयन भएका हुन् ।