इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकार संविधानको सदुपयोग गरेर गठन भएको बताएका छन् । कोशीमा विद्रोह गरेर मुख्यमन्त्री बनेको भन्ने टिप्पणीको खण्डन गर्दै उनले संविधानले दिएको व्यवस्था अनुसार सरकार गठन भएको बताएका हुन् । 

नेपाली काँग्रेस मोरङ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले वर्तमान सरकार सुरक्षा, सुशासन र समृद्धिको तिन बुँदे अभियानमा रहेको प्रष्ट पारे । केही भएन भनेर निराशा बाढ्ने र उटपट्याङ कुरा गर्नेको भिडले  काँग्रेसलाई बन्धक बनाउन खोजेको उनको भनाइ छ । 

कोशी प्रदेश सरकार गठनको प्रक्रिया अगाडी बढिरहेको बेला केही युवा भनिएका मञ्चमा तिन घण्टा भाषण गर्ने नेताहरूले संविधान र पार्टीको दस्ताबेज नपढी कार्यकर्तालाई भ्रमित पार्न खोजेको उनको आरोप छ । कोशीको विद्रोहलाई अस्वीकार गर्ने बताएका नेताहरू प्रति लक्षित गर्दै उनले भने, ‘कोशीमा विद्रोह गरेको सरकार हैन संविधानको सदुपयोग गरेको सरकार हो । डाक्टर मिनेन्द्र रिजाल र डाक्टर शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा सरकार बनाउन सफल हुनु भएकोमा धन्यवाद दिन चाहन्छु ।’ 

सुशासनको लागि कुनै व्यक्ती वा पार्टी सँग सम्झौता नगर्ने बताउँदै उनले भने, ‘यो सरकारले काँग्रेसको छाती चौडा गर्नेगरि काम गर्छ । आफू अनुकूल भयो भने तेल हाल्न पाइन्थ्यो वा कुनै स्वार्थ पुरा हुन्थ्यो भन्नेको लागि यो सरकार हैन । डाक्टर शेखर कोइरालाको प्रत्यक्ष निगरानीमा भएकाले यो अनुशासित सरकार हुन्छ ।’ 

हजारौँ मान्छेको बलीदानीबाट लेखिएको संविधानको कार्यान्वयन फितलो भएको उनको आरोप छ । सङ्घीय संसदले बनाउनुपर्ने कानुन नबनाउने र प्रदेशमा अधिकार प्रत्यायोजन नगर्दा सिंहदरबारको अधिकार गाउँ पुग्न नसकेको धारणा राखे ।  

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा उनी मुख्यमन्त्री चयन भएका हुन् । 

काँग्रेसले संस्थागत रूपमा माओवादी केन्द्रका सांसद इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरुद्धमा उनले विद्रोह गरेका हुन् । कार्कीले मुख्यमन्त्री चयन भएपछि काँग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत पाएका थिए ।