धनकुटा : धनकुटाका आदिवासी समुदाय आठपहरिया जातिको मुख्य सांस्कृतिक पर्व वडाङ्मेटको अवसरमा नगरपालिकाले सोमवार र मङ्गलवार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

धनकुटा नगर क्षेत्रका आदिवासी समुदाय आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

उनले भने ‘वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएका छौँ, यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छौँ ।’

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगर स्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई उद्गम स्थल मान्दै आएका आठपहरियाहरूले १५ दिनसम्म धूमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।