• अनुसा थापा

सरकार निर्णय गर्छ, तर कार्यान्वयन गर्दैन । सरकारले गरेका अधिकांश निर्णय दराजमा थन्किएको अवस्था छ । यातायात क्षेत्र सुधारका निम्ति सरकारले धेरै वटा निर्णय गरिसकेको छ । तीमध्ये एउटा पनि कार्यान्वयनमा आएको छैन । गत साउनको पहिलो हप्ता काभ्रेको धुलिखेलमा सात वटै प्रदेशको मुख्यमन्त्री, यातायात मन्त्री, सङ्घका यातायात मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका पदाधिकारीहरूको बैठक बस्यो ।

दुई दिने बैठकले यातायात क्षेत्र सुधारका निम्ति ११ बुँदे निर्णय गर्‍यो । जसमा २० वर्षे गाडीको लगत कट्टा गर्ने, दर्ता खारेज गर्ने, स्क्रयाब गर्ने प्रणालीको अन्त्य गर्ने, यातायातमा भएको बेतिथि हटाउने, सिन्डिकेट तोड्ने, नयाँ ट्याक्सी, फो-स्टक टेम्पो र ढुवानी गाडीको दर्ता खोलिदिने लगायतका निर्णय बैठकले गरेको छ । निर्णय भएको पाँच महिना भइसकेको छ । तर, एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयमा निर्णयको पत्र पुगेको छैन । जसका कारण सरकारले दुई दिन बसेर गरेको निर्णय अलपत्र परेको छ ।

जनताले तिरेको करबाट लाखौँ रुपैयाँ खर्च गरेर सरकारका प्रतिनिधिहरू बैठक बसे । अन्तिममा त्यो बैठकको उपलब्धि दराजमा थन्कियो । जनताले तिरेको कर ‘बालुवामा पानी’ हालेसरह भयो । २०७७ माघमा सङ्घको यातायात मन्त्रालयले २० वर्ष कटेका सवारी साधन सिँधै पत्रु गर्ने निर्णय गरेको थियो । ती सवारीको दर्ता पनि खारेज गरिदिने भनिएको थियो । त्यो पनि दराजमा थन्किएको अवस्था छ । सरकार कति निरीह छ भन्ने उदाहरण हेर्न यातायात कार्यालय गए हुन्छ ।

उपत्यकाका यातायात कार्यालयहरू, चोक र वर्कसपहरूमा २० वर्ष कटेका ट्याक्सी र ग्याँस टेम्पोको नम्बर प्लेट खुलेआम लाखौँमा बिक्री भइरहेको छ । चार दशकदेखि कालो र हरियो प्लेटको ट्याक्सी, फो–स्टक टेम्पो र ढुवानी गाडीको दर्ता बन्द छ । सरकारले नयाँ दर्ता खोलिदिने हो भने सर्वसाधारणले सित्तैमा नम्बर पाउँछन् । नयाँ व्यवसायी भित्रिन पाउँछन् । खुल्ला प्रतिस्पर्धा हुन्छ । यातायात क्षेत्रमा वर्षौँदेखि एकाधिकार छ । सिन्डिकेट लगाएर केही सीमित व्यवसायीले राज्य र यात्रुलाई ठगिरहेको अवस्था छ ।

यद्यपि, सरकार देखेर पनि अनदेखा गर्छ । सरकारले नयाँ दर्ता खोलिदिने हो भने सर्वप्रथम त राज्यलाई राजश्व आउँछ । दोस्रो: मुलुकमा रोजगारी गरेर खान्छु भन्नेले ट्याक्सी चलाएर पनि गुजारा गर्न सक्ने भए । तेस्रो: यात्रुले आवश्यक परेको बेलामा ट्याक्सी पाउँछन् । चौथो: वर्षौँदेखिको यातायात व्यवसायीको दादागिरीको अन्त्य हुन्छ । आफ्नै मुलुकमा रोजगारी गर्छु, राज्यलाई कर तिर्छु भन्दा पनि किन नपाउने ? काठमाडौँमा जनसङ्ख्या करोड बराबर छ ।

तर, ट्याक्सीको सङ्ख्या जम्मा ९ हजार ! सबै प्रदेशमा ट्याक्सी, फो-स्टक टेम्पो र ढुवानी गाडीको दर्ता बन्द छ । २० रुपैयाँ किलोमिटरमा यात्रु बोक्छु भन्नेहरू यतिकै भेटिन्छन् । यद्यपि, सरकारले सुन्दैन । १० रुपैयाँ किलोमिटरमा फो-स्टक टेम्पो किनेर चलाउँछु भन्नेहरूले पनि पाएका छैनन् । अहिले ट्याक्सी चढ्ने बित्तिकै यात्रुले ५० रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने हुन्छ । जबकि ट्याक्सी गुडेको हुँदैन, पेट्रोल खर्च भएको हुँदैन । सेवा शुल्क लिँदिन भन्नेहरूले पनि पाएका छैनन् ।

अहिले दैनिक हजारौँ नेपाली रोजगारीका निम्ति विभिन्न मुलुक गइरहेका छन् । सरकारले नयाँ दर्ता खोलिदिने हो भने यहाँ पनि रोजगारीको अवसर सिर्जना हुन्थ्यो । सङ्घीय सरकारको यातायात मन्त्री प्रकाश ज्वाला नयाँ दर्ता खोल्ने प्रदेश सरकारको जिम्मामा पर्ने बताउँछन् । बागमती प्रदेशको यातायात मन्त्री लक्ष्मण लम्साल र सचिव तीर्थराज भट्टराई सधैँ एउटै जवाफ दिन्छन्: हामी अध्ययन गर्दैछौ । अध्ययन र छलफल पनि कहिले नसकिने भो । सडकमा २४ वर्ष पुराना ट्याक्सी निर्बाध रूपमा हुइँकिरहेका छन् ।

२७ वर्षे माइक्रो बस र बससहित २९ वर्षे ग्याँस टेम्पो र सफा टेम्पो पनि गुडिरहेको छ । धुवाँको मुस्लो फालेर ती गाडी गुड्छन् तर ट्राफिक प्रहरीको आँखा जाँदैन । सरकारले २० वर्ष कटेका गाडी हटाउने निर्णय गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७१ भदौ १९ गतेको मन्त्रि परिषद्को बैठकले गरेको २० वर्षे गाडी हटाउने निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भइसकेको छ । २०७२ चैत १ गतेको बैठकले २०७३ फागुन १७ गते बागमती प्रदेशबाट २० वर्ष कटेका गाडी हटाउने निर्णय गर्‍यो ।

त्यस्तै, २०७४ चैत १ गतेबाट देशभरबाट त्यस्ता सवारी हटाउने भनियो । २०८० जेठ ७ गते बागमती प्रदेश सरकारले ३५ दिनभित्र २० वर्ष पुगेका सवारी साधन पत्रु गरिसक्नु भनेर सार्वजनिक सूचना निकालेको थियो । जुन कार्यान्वयनमा गएको छैन । देखावटी सूचना निकाल्ने काम सरकारका निकायहरू गरिरहेका छन् । २० वर्ष पुगेका सवारी साधनको रुट परमिट नवीकरण, ब्लु बुक नवीकरण, जाँच पास, बिमा, प्रदूषण चेकजाँच केही पनि हुँदैन । ती सवारीबाट राज्यले एक रुपैयाँ राजश्व पाउँदैन ।

कानुनले २० वर्ष पुगेका गाडीहरू सडकमा निकाल्न नपाउने भनेको छ । तर, खोइ त कार्यान्वयन ? थन्काउनका लागि बनाइएको यस्ता कानुनको के औचित्य ? ट्राफिक प्रहरीले सरकारको निर्णय कार्यान्वयनमा हेलचेक्र्याइँ गर्दा २० वर्ष पुगेका सवारी साधन गुड्ने क्रम रोकिएन । ट्राफिक प्रहरीकै सामुन्नेबाट त्यस्ता सवारी साधन धुवाँको मुस्लो फ्याँकेर गुड्छन् । तर, ट्राफिक टुलुटुलु रमिता हेरेर बस्छ । ट्राफिकको लापरबाहीका कारणले दुर्घटना र ट्राफिक जाम बढ्यो । 

यता, प्रदूषण पनि कम भएन । सरकारको निर्णयलाई यातायात व्यवसायीले ‘धोती’ लगाइदिएका छन् । तर, ट्राफिकलाई अलिकति पनि हीनताबोध भएको छैन । ट्राफिकले २० वर्ष पुगेका सवारी साधन पक्रिहाल्यो भने पनि पाँच सय रुपैयाँ जरिवाना तिरेर छोडिदिन्छ । जुन सरासर कानुन विपरीतको कार्य हो । २० वर्षे गाडी चलाउनु गैर कानुनी हो । त्यस्ता सवारीबाट ट्राफिकले कसरी जरिवाना लियो ? ट्राफिकले त्यस्ता सवारी कि यातायात व्यवस्था कार्यालय बुझाउनुपर्छ कि विभागमा ।

ड्युटीमा बसेको ट्राफिकले कानुन नबुझेको हो ? किन ट्राफिक प्रहरी प्रमुखको मुख ताकेर बसेको ? यातायात मन्त्री लम्साल कानुन कार्यान्वयन गर्ने काम ट्राफिकको भएको बताउँछन् । उनले यसको जवाफ ट्राफिकसँगै माग्न भन्छन् । यता, ट्राफिक हामीलाई मन्त्रालयबाट पत्र आएको छैन भन्दै टार्छन् । यातायात मन्त्रालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक अर्कामाथि औँला तेर्स्याएर उम्किने प्रवृत्तिले कानुन कार्यान्वयन नहुने भो । यातायात व्यवसायी ट्राफिकका प्रमुख पोषणराज पोखरेलसँग आफ्नो राम्रो सम्बन्ध भएको बताउँदै हिँडेका छन् ।

ट्राफिकले २० वर्षे गाडी समात्नमा चासो नदेखाउनुले राम्रो सम्बन्ध त प्रस्ट भई नै हाल्छ । कि त ट्राफिकलाई यातायात व्यवसायीको दबाब छ कि आर्थिक चलखेल भएको छ । यी दुई कारणले ट्राफिकले पनि मन्त्रि परिषद्को निर्णय दराजमा थन्काएको स्पष्ट छ । सार्वजनिक सवारी साधनमा गरिएको लगानी तीनदेखि पाँच वर्षमा उठ्छ । एउटा गाडीले २० वर्षमा पाँच वटा गाडी जोडिसकेको हुन्छ । २०३० सालदेखि २०८० सालसम्म आइपुग्दा पनि सिन्डिकेट तोडिन सकेन ।

पुराना गाडी २० वर्ष पुगेपछि फाल्ने अनि त्यसकै स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्ने । यसले गर्दा भाडाको गाडीको सङ्ख्या बढेन । जबकि जनसङ्ख्या बढेको बढ्यै छ । सरकारले आफूलाई सिन्डिकेट विरोधी बताउँदै आएको छ । यातायात क्षेत्रमा दशकौँ देखि भएको सिन्डिकेट चाहिँ सरकारले कहिले देख्छ ? यातायात व्यवसायीहरूले अहिले पनि बाटो कब्जा गरेर जनता ठगिरहेका छन् । यातायात समितिबाट रूपान्तरण भएर खुलेका प्रालिहरूले दैनिक लेबी उठाउँदै आएका छन् ।

एउटा गाडीबाट दैनिक आठ सयदेखि १५ सय रुपैयाँ लेबी उठाइन्छ । प्रालिका अध्यक्षदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घका पदाधिकारीहरूले लेबी बापत उठाएको पैसामा मोज मस्ती गर्दै आएका छन् । सिन्डिकेट लगाउने, आम सर्वसाधारणलाई दुःख दिने अनि आफूहरू खाने । यिनीहरूको ठगी धन्दा दिनप्रतिदिन बढेको छ तर सरकार हात बाँधेर बसेको छ ।

भक्तपुर