वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पर्यटकीय स्थल सुर्यकुण्ड क्षेत्रमा स्थानीयले भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न नगर प्रमुख रमेश कार्की लागि परेका छन् ।

स्थानीयहरूको खानेपानिको समस्यालाई अल्पकालीन रूपमा पूरा गर्दै आएको अर्चले, बाग्लदबारी, भालुखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको क्षमता बढाएर सुर्यकुण्ड क्षेत्रहरू मूलगाउँ, चावचा लगायत गाउँमा खानेपानी बिस्तार र व्यवस्थापनमा नगरपालिका लागि पर्ने नगर प्रमुख कार्कीले बताए ।

हाल भालुखोलाको पानीलाई उपयोग गरी अर्चले, बाग्लदबारी, भालुखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पानी वितरण गरी राखेको र यसमा अब हिले खोलाको मूललाई पनि मिसाएर अर्चले, बाग्दलवारी, मूलगाउँ, सुर्यकुण्ड क्षेत्र, चावचामा पानी पुर्याउने नगर प्रमुख कार्कीले बताए ।

भालुखोलाको पानीबाट अर्चले, बाग्लदबारी र सुर्यकुण्ड क्षेत्रका केही घर गरी ६५ देखि ७० घरमा पानी वितरण गर्दै आएको र यसमा हिले खोलाको मूललाई पनि मिसाउन सकिए सुर्यकुण्ड क्षेत्रदेखि मुलगाउँ, चाबचासम्मनै पानी वितरण गर्न सकिने अर्चलले, बाग्लदबारी, भालुखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष अमृत तामाङले बताए ।

यसका लागि पानी तान्ने मेसिन लगायत केही सामाग्री आवश्यकता पर्ने भएकाले नगर प्रमुख रमेश कार्की सोमवार बिहानै पानीको मुहान र टङ्की भएको स्थानमा प्राविधिक सहित आउनु भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार पानीको मुहान, टङ्की र स्थानीयहरूसँग छलफलका लागि नगर प्रमुख कार्की सहित नगरपालिकाका योजना शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई, इन्जिनियर नवीन खनाल, प्राविधिक पुन्य ढुङ्गेल, नगरपालिकाका खानेपानी शाखाका कर्मचारी मोतीलाल चौधरी सुर्यकुण्ड क्षेत्र पुग्नु भएको थियो ।