विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको मापदण्डमा परेका घरधनीहरूसँग स्थलगत रूपमा छलफल गरेका छन् ।

जामुनगाछी-केशलिया खोला क्षेत्रमा हुलाकी सडकको मापदण्ड भित्र पर्ने स्थानिय घरधनीहरूसँग सडकको अनुगमनको क्रममा मङ्गलवार बिहान मेयर कोइरालाले स्थलगत छलफल गरेका हुन् ।

स्थलगत अनुगमनमा पुगेका मेयर कोइरालाले स्थानीय बासीले राखेका गुनासा र समस्या सुन्दै मापदण्डमा परेका घरधनीहरूसँग समस्या समाधानका उपाय खोज्न छलफल गरेका हुन् ।

निकै लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडक सुधारको योजना पछिल्लो समय मेयर कोइरालाको कार्यकालमा सक्रियतामा पूर्वक निर्माण कार्यले गति लिएको छ ।

छलफलमा सडक निर्माणपछि सो क्षेत्रको विकासले गति लिने मेयर कोइरालाले विश्वास व्यक्त गरे । निर्माणको कामलाई गति दिन मेयर कोइरालाले निर्माण व्यवसायी वासु उप्रेतीलाई स्थलगत रूपमा निर्देशन दिएका थिए ।

अनुगमनमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा ४ का वडाध्यक्ष जितन थापा, प्रवक्ता तथा वडा ५ का अध्यक्ष सन्तोष न्यौपाने पनि साथै थिए ।

वडा सदस्यहरूका साथै योजना महाशाखा प्रमुख अर्जुन थापा लगायतको समेत अनुगमन टोलीमा थिए ।