धरान : प्रदेश न १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले समितिका झापाका संयोजक पाण्डपलाल चौधरी र धनकुटाका महेश राईलाई तुरुन्त रिहा नगरे कडा आन्दोलनको घोषणा गर्ने सरकारलाई चेतावनी दिएको छ ।

एमालेको सङ्कल्प यात्रा लक्षित विरोध प्रदर्शनमा पक्राउ परेका आन्दोलनकारी र दुई दिने कोशी प्रदेश बन्दको क्रममा पक्राउ परेका नेता, कार्यकर्ता रिहा भएपनि चौधरी र राईलाई रिहा नगरेपछि सङ्घर्ष समितिले आज सोमवार विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो ।

चौधरीलाई मङ्सिर २६ गते मुख्यमन्त्री केदार कार्कीलाई कालो झन्डा देखाएका, गाडीमा ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको थियो । महेश राईलाई धनकुटामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुर्व्यवहार गरेको आरोपमा मङ्सिर २८ गते पक्राउ गरिएको हो ।

वक्तव्यमा भनिएको ‘महेश राईको गिरफ्तारीपछि केपी ओलीका पिछलग्गु दासहरूले महेश राईको श्रीमतीलाई धम्क्याउने, मानसिक यातना दिने, केही मिडियाले झुटो बोल्न लगाएर प्रचार गर्ने गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

भिडियोमा देखिएका महेश राईलाई कुटपिट गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न गृह प्रशासनको ध्यानाकर्षण गराउँदै वक्तव्यमा भनिएको छ ‘हिरासतमा प्रहरीबाट अमानवीय व्यवहार हुनु र झुटा बयान तयार पार्ने प्रयास मानव अधिकारको गम्भीर उलङ्घन हो, यस्ता कार्य तुरुन्त बन्द गरी तुरुन्त रिहा गर्न माग गर्दछौँ ।’

वक्तव्यमा राज्य शक्ति र स्रोतको व्यापक दुरुपयोग गर्दै एकाघरका दाजुभाइलाई एक आपसमा भिडाउने उद्देश्यले सङ्कल्प यात्राको क्रममा सङ्खुवासभाका कान्छा लामा र पाँचथरका प्रेम सङ्ग्रौलाको मृत्यु हुन पुगेको उल्लेख गर्दै भनिएको छ ‘मृत्युको मुख्य कारण केपी ओली, योगेश भट्टराई र महेश बस्नेत गुट हुन् । गुटले जिम्मेवारी लिँदै मृतक पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिनु पर्दछ भन्ने कुरामा सचेत गराउँदछौँ ।’

नश्लीय प्रदेश नाम ‘कोशी’ खारेजी नभएसम्म ८२ं प्रदेश सभा सदस्य र पहिचानवादीलाई अपराधी आतङ्ककारी भनी आरोप लगाउने केपी ओली, योगेश भट्टराई र महेश बस्नेतलाई कालो झन्डा देखाउने र विरोध प्रदर्शन गर्ने घोषित कार्यक्रम भएको वक्तव्यमा उल्लेख छ ।

namangkan press bigyapti