धरान : धरान उपमहानगरपालिकाले स्थानीय विद्यालयहरूको अनुगमनको नाममा गरेको व्यवहार तथा त्यसलाई युट्युब च्यानल, सामाजिक सञ्जाल, अनलाइनहरूमा भएको प्रचारप्रति नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आपत्ति जनाएको छ ।

सङ्गठनले बिहीबार एक वक्तव्य प्रकाशित गर्दै आपत्ति जनाएको हो । यसबाट शिक्षक, विद्यार्थी र विद्यालय प्रशासन, विद्यालय र स्थानीय सरकार बिच दुरी बढ्न जाने समेत देखिएकोले आपत्ति जनाइएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा विद्यालय सञ्चालन भएको समयमा सुरक्षाकर्मी तथा युट्युबरहरुको प्रवेशले विद्यालय शान्ति क्षेत्रको मर्म तथा बाल मनोविज्ञानमा पर्न जाने नकारात्मक प्रभावको समेत ख्याल राख्न र विद्यालयमा रहेका शैक्षिक फोकल पर्सन, गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी लगायतको व्यवस्थालाई बेबस्ता गरिएकोमा ध्यानाकर्षण गराइएको छ ।

सङ्गठनमा अध्यक्ष बुद्धसागर सुवेदी, सचिव केशवप्रसाद खतिवडाको हस्ताक्षर रहेको वक्तव्यमा विद्यालयको सम्बन्धमा आएका गुनासाहरूको उपयुक्त विधि मार्फत सुनवाइ गरिने प्रणालीको विकास गर्न स्थानीय सरकार, सरोकारवाला, अभिभावकहरूसँग आग्रह गरिएको छ ।

शिक्षक सङ्गठनको उक्त वक्तव्य सामाजिक सञ्जालमा आएपछि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले हिजै आफ्नो फेसबुक वालमा वक्तव्य सहित व्यङ्ग्यात्मक प्रतिक्रिया शेयर गरेका छन् । उपमेयर बेघाले लेखेका छन् ‘साथीहरूलाई धन्यवाद दिऊँ । । विद्यालय अनुगमनपछिको प्रतिक्रिया ।।’

उपमेयर स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमहानगरपालिकाका अनुगमन प्रमुख हुन । पछिल्लो समय अनुगमन टोली अनधिकृत व्यक्ति, युट्युबरको टोली समेत लिएर हिँड्ने गरेकोमा उद्योग वाणिज्य सङ्घ समेतले आपत्ति जनाएको थियो ।

सङ्गठनको वक्तव्य आउनु अघि उपमेयर बेघाको टोली धरान–८ स्थित सहिद स्मृति माविको अनुगमनमा गएको थियो । त्यहाँ विद्यालयबाट प्रदान गरिने प्रमाणपत्रको शुल्क बारेमा आएको गुनासोका बारेमा उपमेयर बेघाले सहजीकरण गरेका थिए । सोही विषय सामाजिक सञ्जाल, युट्युबमा विभिन्न तरिकाले आएपछि सङ्गठनले आपत्ति जनाएको हो ।

teachers-leader