वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा ६ स्थित ठाकुरबारी देखि कोसीपारी गरैया श्रीलङ्का टप्पु जोड्न सप्तकोसी नदीमा झोलुङ्गे पुल निर्माण गर्नकालागी सर्वे गर्न थालिएको छ । ठुला झोलुङ्गे पुल निर्माण विभाग मार्फत सङ्घीय सरकारले कोशी नदिमा झोलुङ्गे पुल निर्माणको लागि सोमवारबाट सर्वे सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

नमुना झोलुङ्गे पुल नामकरण गरेको उक्त योजनाको लागि गत आर्थिक वर्ष २०७९/०८० मा सङ्घीय सरकारले पुलको लागि अध्ययन, स्थलगत निरीक्षण समेत गरेको थियो । यस आर्थिक वर्ष पनि सङ्घीय सरकारले सर्वे, डिपिआर लगायत सुरुवाती चतरणको काम गर्न बजेट समेत विनियोजन गरेको छ ।

सुगम जिल्ला सुनसरीको दुर्गम बस्तीको रूपमा रहेको सप्तकोसी पारि श्रीलङ्का टप्पुलाई चक्रघट्टि बजारसँग सहज, छरितोसँगै सुरक्षित रूपमा जोड्न कोशी नदिमा झोलुङ्गे पुलको योजनाका लागि सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले पहल कदम गरिरहनु भएको नगर प्रमुख कार्कीले बताए ।

कोसीको मुख्य भँगालो पार गरेर करिब ५ किलोमिटर बालुवै बालुवाको बगर पार गरेपछि वडा ६ र ९ मा श्रीलङ्का टप्पु रहेको छ । मधेसको आदिवासी चन्द वंशी, यादव, मण्डल, साह लगायत सबै खाले जातजाति पहाडका राई, लिम्बु, माझी मगरको बसोबास भएको श्रीलङ्का टप्पुमा रहेको छ ।

करिब पाँच किलोमिटर दुरी अनुमान गरिएको उक्त झोलुङ्गे पुल निर्माणले स्थानीयको दैनिकी, आधारभूत आवश्यकता, कृषि, पर्यटनको महत्त्वपूर्ण विकास हुने वराहक्षेत्र वडा नं ६ का अध्यक्ष उद्धवप्रसाद पोख्रेलले बताए ।

srilanka tappu jhulunge 2

srilanka tappu jhulunge 3