इटहरी : बुधवार साँझ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले चेतावनी पूर्ण फेसबुक पोष्ट गरे । ‘अब भएन । जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र तिनका पछाडिका पात्रको भूमिकाका बारेमा पर्दा च्यात्ने बेला भएछ । बाकी केही घण्टा केही दिन छ,’ उनले लेखेका छन् ।’

नेकपा एमाले प्रति लक्षित गर्दै उनले सस्तो लोकप्रियताको लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सहेर बसेको उल्लेख गरेका छन् । सहमति र सहकार्यका साथ स्थानीय सरकार सञ्चालन गरिरहेको बताउँदै मेयर पौडेलले भ्रमको राजनीति नगर्ने चेतावनी दिएका हुन् ।

सोही दिन इटहरी उपमहानगरपालिकाको नगर सभा स्थगित भएपछि नेकपा एमालेले विरोध जनायो । विना कारण नगर सभा स्थगित भएको भन्दै एमालेका नगर सभा सदस्य तथा कार्यपालिका सदस्यले चर्को स्वरमा आलोचना गरे ।

राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएको एमाले बुधवारको नगर सभाबाट सो विषय समाधान हुने विश्वासमा थियो ।

यसअघि राजस्व घटाउनको लागि वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा एक समिति गठन भएको थियो । साउन २६ गतेको कार्यपालिका बैठकबाट गठित समितिले समयमै प्रतिवेदन बुझाउन सकेन । अन्ततः संयोजकको एकल हस्ताक्षरमा राजस्व परामर्श समिति मार्फत कार्यपालिकामा प्रतिवेदन पेस भयो ।

पुस ४ गतेको कार्यपालिका बैठकमा मेयर पौडेलले सोही प्रतिवेदनलाई अङ्गीकार गर्दै कर समायोजन गर्ने प्रतिबद्धता मात्र जनाएनन् सोही अनुसार निर्णय पनि भयो । बैठकले ११ गतेको नगर सभाबाट राजस्व समायोजन गर्ने निर्णय गर्‍यो ।

सोही निर्णय अनुसार बोलाइएको नगर सभा स्थगित भएकोमा एमालेले औपचारिक रूपमा असन्तुष्टि जनायो । एमाले इटहरी उपमहानगर कमिटीका कार्यबहाक अध्यक्ष रुपेश बस्नेतले विज्ञप्ति जारी गर्दै विना कारण नगर सभा स्थगित हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे ।

इटहरीका अभिभावकको रूपमा रहेका मेयर पौडेल असक्षम रहेको नगरबासीले अनुभूति गरेको विज्ञप्तिमा बताइएको छ । बस्नेतले एमालेले गरेको संवाद, सहकार्य र सहमतिको प्रयासलाई कमजोरीको रूपमा नलिन चेतावनी दिएका छन् । अस्वाभाविक र अवैज्ञानिक ढङ्गबाट वृद्धि भएको राजस्व समायोजन गर्ने एमालेले जोडदार माग गरेको छ ।

यसअघि पनि एमालेले राजस्व समायोजन गराउन बारम्बार आग्रह गर्दै आएको थियो । एमालेले छुट्टै कार्यपालिका बैठक बोलाउने देखि चरणबद्ध आन्दोलन चर्काउने चेतावनी दिँदै आएको छ । उता मेयर पौडेल भने एमालेको चेतावनीलाई बेवास्ता गरिरहेका छन् ।

इटहरी उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधि बिचको टकराब बढ्दै गएको छ । काँग्रेसबाट मेयर सहित ५ वडाध्यक्ष छन् भने एमालेको उपमेयर र १५ वडाध्यक्ष सहित कार्यपालिका र नगर सभामा बहुमत छ ।

emaley bigyapti 2