विराटनगर : घरबाट घुम्न निस्किएकी विराटनगर-३ दुर्गाचौककी ८५ वर्षीय वृद्धा तारादेवी पोद्धार कञ्चनबारी पुगेपछि आएको बाटो बिर्सिएर हराइन् ।

फर्कने बाटो ठम्याउन नसकेपछि कञ्चनवारीमा अलपत्र परेकी तारादेवीको परिवारमा भने आमा हराएकोमा सोमवार बिहान कोहराम मच्चिएका थियो ।

सडकमा अलपत्र वृद्धा भेटिएको खबर नगर प्रहरीले उपमहानगरपालिका मेयर नागेश कोइरालालाई दिए । तत्कालै फोनमा मेयर कोइरालाले वृद्धालाई तत्काल गाडीमा राखेर छेउछाउको टोलहरूमा चिन्ने मानिस र घर खोज्न निर्देशन दिए ।

वृद्धाले आफ्नो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् । नगर प्रहरीले घर खोज्ने क्रममा एकजना व्यक्तिले वृद्धालाई चिने ।

नगर प्रहरीले एक्कासि तारादेवीलाई लिएर घरमा पुग्दा परिवार कोहोलो मच्चाएर रोएको नगर प्रहरीका सई तीर्थजंग खत्रीले बताए । नगर प्रहरीले वृद्धा तारादेवीलाई छोरा भोला र नातिनी काजलको जिम्मा लगाए ।

हराएकी आमालाई सकुशल घरमा पुराएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । ‘नगरपालिकाले भगवान नै भएजस्तो भएको’ उनले रुँदै बताइन् ।