धरान : लायन्स क्लब अफ धरान विजयपुरले धरान-१५ महादेव चौकका स्पाइनल कर्ड इन्जुरी भएर हिँडडुल गर्न नसक्ने पुण्य प्याकुरेलको घरमा भान्साघर निर्माण गरिदिएको छ ।

मजदुरी गरेर दैनिक जीवन निर्वाह गर्दै आएका प्याकुरेल ९ वर्ष अघि घर फर्किँदा दुर्घटनामा परेका थिए । उनको छातीको भाग देखि मुनि प्यारालाइसिस भएर हिँडडुल गर्न नसक्ने अवस्थामा थला परेका छन् ।

प्याकुरेलको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । उनको परिवारलाई दैनिक जीवन सहज होस भन्ने उद्देश्यले लायन्स क्लबले भान्साघर बनाई दिएको हो ।

क्लबले १ लाख १० हजार रुपैयाँको लागतमा निर्माण गरेको भान्सा घर मङ्गलवार उनको घरमा संक्षिप्त कार्यक्रमका बिच प्याकुरेललाई हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब विजयपुरका पूर्व अध्यक्ष एलसिआइएफ लायन्स रेखा गुरुङले पुण्य प्याकुरेलको अवस्थाको विषयमा जानकारी पाएपछि क्लबले किचन निर्माण योजना बनाएको हस्तान्तरण कार्यक्रममा लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकारले बताइन् ।

आर्थिक अवस्था कमजोर रहेका प्याकुरेलका परिवारको लागि लायन्स क्लब अफ धरान विजयपुरले नियमित औषधि, खाद्यान्न, बालबच्चाका लागि शैक्षिक सामग्री उपलब्ध गराउँदै आइरहेको बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर शिवहरी शर्मा, भाइस गभर्नर विकास अधिकारी, आइपिडिजि धिरज गुरुङ लगायतको उपस्थिति थियो ।

यसअघि प्याकुरेललाई यातायात स्वतन्त्र मजदुर सङ्गठन, स्थानीय पत्रकारहरूले तिहारमा देउसी खेलेको रकम सहित सहयोग सङ्कलन गरेर घर बनाई दिएका थिए ।

lions club 2