विराटनगर : विराटनगर महानगर क्षेत्रमा लैङ्गिक विभेदका हिंसाबाट प्रभावित १८० जनाले हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाबाट मद्दत पाएका छन् ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की सहितको सल्लाहकार बैठकमा शुक्रवार परियोजना सञ्चालक संस्थाले उक्त जानकारी दिएको हो । युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओ, महानगरपालिकाको साझेदारीमा ३ वर्षदेखि परियोजना सञ्चालित छ ।

सन् २०२३ मा कोशी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट ४३१ जना लैङ्गिक हिंसा प्रभावित मध्ये महानगर क्षेत्रका १८० जना ४२ प्रतिशतलाई मद्दत गरिएको आइपासका प्रदेश संयोजक सरोज भुसालले जानकारी दिइन् ।

बैठकमा सन् २०२३ को वार्षिक प्रगति र सन् २०२४ को जुन सम्मको कार्य योजना प्रस्तुत गरियो । प्रतिवेदनमा रोकथाम तर्फ ८६ जोडी, नजिकका परिवारजनलाई सहभागी गराई परिवार संवाद गरिएको उल्लेख छ ।

संवादमा ५८२ जनाको सहभागिता रहेको थियो । सहभागीहरूबाट लैङ्गिक हिंसा रोकथाम, सामाजिक मूल्यमान्यता, हिंसाको असर तथा प्रभावबारे जानकारी प्राप्त भएको लैङ्गिक विशेषज्ञ सुनिल कुमार साहले बताए । विराटनगर १, ६, १२, १४ र १५ वडामा ३ वर्षदेखि परियोजना सञ्चालन भइरहेको छ ।

मेयर कोइरालाले महानगरका अन्य वडामा पनि सेवा विस्तार गर्न सरोकारवाला संस्थालाई आग्रह गरे । परियोजना सञ्चालनमा आएपछि लैङ्गिक विभेदका हिंसामा कमी आएको उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।