धरान : कोशी प्रदेश सभाका सदस्य विजय राईले सञ्चारकर्मीहरूले व्यक्ति, पार्टी र समूहको हितका पछि लाग्ने प्रवृत्ति प्रेस स्वतन्त्रताको लागि खतरा भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आयोजित विश्व प्रेस स्वतन्त्रता दिवसको अवरमा आयोजित प्रभात फेरी समापनमा उनले पछिल्लो समय सञ्चार माध्यमको रूपमा आएको नयाँ मिडियाले यस्तो प्रवृत्ति बढाएको बताए ।

उनले भने, ‘मिडिया भनेको ऐना हो समाजमा भएका राम्रा नराम्रा कुराहरूको सम्प्रेषण हुनु पर्दछ ।’ समूह, व्यक्ति कसैले भनेकै भरमा, बोलेकै भरमा हुँदै नभएका कुरालाई भाइरल बनाउँदा आम जनता ठुलो भ्रममा पर्ने उनले बताए ।

यो स्थितिले मिडियाप्रति जनविश्वास घट्ने र त्यसले प्रेसको स्वतन्त्रता खतरामा पर्ने उनको भनाई थियो । धरानमा खानेपानीको महाहाहाकार भएको बेला पानीको खासै समस्या छैन भन्ने भनाई र खबर प्रचार प्रसार हुनु दुर्भाग्य पूर्ण भएको उनको भनाई थियो ।

धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम वेघाले मिडिया सन्तुलित हुनुपर्ने कुरामा जोड दिए । स्थानिय सरकारको कमी कमजोरीलाई सुधारका लागि प्रोत्साहित गर्ने सकारात्मक सोचले स्वतन्त्र पत्रकारिता गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राईले अहिले मिडिया व्यापार व्यवसाय जस्तै भएको र विश्वास पनि गुमाउँदै गएको बताए । अनलाइन मिडिया र अनलाइन सपिङको तुलना गर्दै उनले अनलाइनमा गरेको प्रचारको आधारमा गरेको अर्डर घरमा आइपुग्दा निल्नु न ओकल्नु हुने जस्तै समाचारहरू पनि हेर्दा र सुन्दा भ्रामक लाग्ने आउने गरेको बताए ।

उनले पछिल्लो समय धरान चर्चाको विषय भएको बताउँदै धरान हरेक कुराको उर्वर, सृजनशील रहेको ठाउँ धरानमा अराजकता बढेको छ, सूचना समाचार धेरै भएको छ तर सही सूचना कुन हो भन्ने कुरा खोज्दा मानिस भ्रममा पर्न थालेको बताए ।

नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङले अहिले धरामा खानेपानीको हाहाकार छ तर मिडियाहरूले त्यसलाई गम्भीर समस्याको रूपमा अगाडि नल्याएको आरोप लगाए । नयाँ मिडियाका रूपमा आएका युट्युबरहरूले धरानवासीको सङ्कटलाई उजागर गर्नु पर्ने बेलामा ढाकछोप गरेको उनको भनाई थियो ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले धरानबाट २७ वर्ष अघि पहिलो पटक प्रेस स्वतन्त्रता दिवस मनाउन सुरुवात गरिएको बताए । पछिल्लो समय आएको न्यु मिडियाले सञ्चार माध्यमलाई फराकिलो बनाएको बताउँदै उनले भने, 'यो स्थितिले पत्रकारितालाई कता लैजान्छ र अब कसरी मर्यादित, अनुशासित र सिर्जनात्मक पत्रकारिता अघि बढाउने भने कुरा बहसको विषय बनेको छ ।'

भानुचौकमा भएको समापन पत्रकार महासङ्घ सुनसरी सचिव ध्रुव ढकालले सञ्चालन गरेका थिए । यसअघि पब्लिक हाई स्कुल अगाडि बाट सुरु भएको प्रभातफेरी भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अनलाइन मिडिया एसोसिएसनको पनि प्रभातफेरी :

यसै बिच धरानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै नेपाल अनलाइन मिडिया एसोसिएसनले पनि छुट्टै प्रभातफेरीको आयोजना गर्‍यो । धरान उपमहानगरपालिका कार्यालय अगाडि बाट सुरु भएको प्रभातफेरी भानुचौकमा कोणसभामा परिणत भएको थियो ।

एसोसिएसनका अध्यक्ष स्वर्णिमहाङ लिम्बुको सभापतित्वमा भएको कोणसभामा उपमेयर आइन्द्रविक्रम बेघा प्रमुख अतिथि थिए । सभामा वरिष्ठ पत्रकार हर्ष सुब्बा, वडा १५ का अध्यक्ष नरेश इङवारम, वडा २ का अध्यक्ष रमेश राईले नयाँ मिडिया अनलाइनको उपयोगीताका बारेमा धारणा राखेका थिए ।

अध्यक्ष स्वर्णिमहाङका अनुसार एसोसिएसनले पत्रकार महासङ्घसँग सहकार्यमा जोड दिएको बताउँदै अनलाइन युट्युबमा आबद्ध सञ्चारकर्मीहरूलाई पत्रकारिताको आचार संहिताको दायरामा ल्याउन एसोसिएसनले प्रशिक्षण कार्यक्रमहरू गर्दै आएको बताए ।

world-press-freedom-day

World Press Freedom Day News 2