खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिका वडा नं.२ वाप्लुखामा किराँती जाती यलम्बर राजाको प्रतिमा सहित यलम्बर पार्कको स्थापना गरिएको छ। 

बिहीबार एक कार्यक्रमको आयोजना गरी खोटेहाङ गाउँपालिकाको प्रमुख उद्विम बहादुर राईले पार्क र ९ फिट अग्लो यलम्बरको प्रतिमाको उद्घाटन गरेका थिए । उक्त पार्कको लागी स्थानीय जफतजङ खिम्दुङ राईले २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 

उद्घाटनको क्रममा गाउँपालिका प्रमुख उद्विम बहादुर राईले किराँतीहरूको संस्कार संस्कृति लोप हुँदै गएको र किराँती जातिहरूको पुजारीको पनि लोप हुँदै गएकाले किराँती संस्कारको पुजारीबाट गरिने संस्कारमा समेत समस्या पर्न थालेको बताए । यसको लागी आफ्नो संस्कार संस्कृतिहरूको जगेर्ना गर्न जरुरी रहेको उनले बताए । 

आर्थिक वर्ष ०७६/७७ सालको गाउँपालिका र वडाको क्रमगत ७० लाखको बजेटबाट समितिले काम गर्दै आए पनि यस वर्ष गाउँपालिकाले कोटेसनमा निर्माण गरिएको उनले जानकारी दिए ।

पार्कभित्र यलम्बरको प्रतिमा, खानेपानीको धारा, प्रतीक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएको छ । 

पार्कको निर्माणले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए ।

'सुम्लिखामा बान्तवा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ', उनले भने, 'यही ऐतिहासिक स्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।'

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं.९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, नेकपा एमालेको गाउँपालिका पार्टी अध्यक्ष विकास राई, माओवादी पार्टीको गाउँपालिका उपाध्यक्ष ईन्द्रहाङ किराँती, बुद्धिजीवीहरू लगायत स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।