इटहरी : कोशी प्रदेशका महत्त्वपूर्ण दुई नगर इटहरी र विराटनगरमा एमाले भित्रको किचलो सतहमा आएको छ । विराटनगरमा मानगढ खानेपानी निर्वाचनलाई लिएर चुलिएको विवाद निलम्बन सम्म पुगेको छ भने इटहरीमा प्रतिनिधि विवादले अधिवेशन नै स्थगित भएको छ ।
मानगढ खानेपानीमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध अर्का उम्मेदवार उठाएको भन्दै विराटनगर महानगर अध्यक्ष सागर थापा सहित तिन जना निलम्बनमा परेका छन् ।
सङ्गठित सदस्यबाट निलम्बित हुनेहरूमा अध्यक्ष थापा सहित उपसचिव नवराज नेपाल र वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराई छन् । भट्टराईले अर्का उम्मेदवार राम घिमिरे विरुद्ध उम्मेदवारी दिएको भन्दै मोरङ जिल्ला कमिटीले कारबाही गरेको हो ।
तीन दशक देखि अध्यक्ष रहँदै आएका घिमिरे र भट्टराई बिच जेठ १९ गतेको निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । निर्वाचनको समयमा घिमिरे र भट्टराई समूह बिच विवाद बढ्दै गएपछि मतदान प्रक्रिया स्थगित भएको थियो । हाल सोही मुद्दा उच्च अदालत विराटनगरमा विचाराधीन अवस्थामा छ ।
विराटनगरमा बहालवाला अध्यक्ष निलम्बनमा परिरहेको बेला इटहरीमा भने अधिवेशन नै प्रभावित भएको छ । इटहरी अध्यक्ष याम कुमार सुब्बा जिल्ला उपसचिवमा निर्वाचित भएको र अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा विवाद बढ्दै गएको हो ।
जेठ २९ देखी सुरु हुने भनेको अधिवेशन जिल्ला अध्यक्ष निलम खनालको मृत्युको कारण असार २ गतेलाई सरेको थियो ।
त्यस बिचमा वडाबाट आउने प्रतिनिधि छनौटको विषयमा विवाद चुलिएको हो । प्रतिनिधि छनौट गर्दा २०८० चैत मसान्त सम्म नवीकरण गरेका सङ्गठित सदस्यहरूबाट चयन गर्ने कि वैशाख सम्मकोलाई मान्यता दिने भन्नेमा विवाद बढेको हो ।
बहालवाला कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले चैत मसान्त सम्मलाई मान्यता दिएर अगाडी बढ्ने अडान लिएका छन् । केन्द्रबाट त्यही अनुसारको सर्कुलर जारी भएको र नामावली पनि सोही अनुसार आएको हुँदा हठको आधारमा भन्दा पनि विधि र पद्धतिको आधारमा अगाडी बढ्नुपर्ने उनले बताएका छन् ।
उता अध्यक्षका दाबेदार समेत रहेका युवासंघ सुनसरी अध्यक्ष सुजन लामाले वैशाखमा धेरै पार्टी सदस्यले नवीकरण गरेको हुँदा उनीहरूलाई छाड्न नहुने बताएका छन् । यस बिचमा नवीकरण भएका अधिकांश सदस्यहरू युवा भएको हुँदा नेतृत्वले त्यसलाई अस्वीकार गरेको उनको भनाइ छ ।
इटहरीको विवाद मिलाउन एमालेको केन्द्रीय नेतृत्व लागि परेको छ । शेरधन राई, भगवती चौधरी लगायत नेताहरू इटहरीमा देखिएको समस्या समाधान गर्न लागि परेका हुन् ।
आइतबार साँझ सम्ममा ठोस निकास निकालेर ४ गते वा त्यही आसपास अधिवेशन उद्घाटन गर्ने गरी सहमति हुने नेताहरूले बताएका छन् ।