धरान : धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट बनाउँदा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा सहित २८ जना कार्यपालिका सदस्यहरू बिच द्विपक्षीय भिडन्त हुनसक्ने वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई मनोजले बताएका छन् ।

वडा कार्यालयले मङ्गलवार रल्वेचोकमा गरेको सचेतना कार्यक्रममा उनले भने ‘मेयरले एकपक्षीय ढङ्गले बजेट निर्माण गर्ने तयारी गरेको छन्, अव हामी पनि आफ्नो तरीकाले लाग्छौँ ।’ वडावासीको साथ र समर्थन आवश्यक रहेको बताउँदै अध्यक्ष भट्टराईले अधिकारको लागि लड्न २० वटै वडाध्यक्ष तयार भएको बताउँदै वडावासीहरुलाई पनि तयार हुन आव्हान गरे ।

मेयरको साम्पाङको एकल आदेशमा कर्मचारीहरूलाई डाँडा घोपाको जग्गा सिफारिस नगर्नु भनेको खुलासा गर्दै वडाध्यक्ष भट्टराईले भने ‘अहिले डाँडा घोपाबासीहरुले पानी, बिजुलीको समेत सिफारिस पाएका छैनन् ।’ डाँडा घोपाबासीको मागका लागि आफू अगाडी लागेर उपमहानगरपालिका र मेयरको कार्यकक्ष घेराउ गर्न तयार रहेको उनले बताए ।

उनले भने ‘मेयर साम्पाङको कारणले भदौ ९ गते धरान धार्मिक युद्धको मैदान हुन्थ्यो, तर हामीले सुझबुझपूर्ण निर्णय गर्‍यौँ र प्रहरी प्रशासनसँग समन्वय गरेर धरानलाई रणमैदान हुनबाट जोगायौँ ।’

जनताको घरमा पिउने पानी अभाव भइरहँदा मेयर साम्पाङले भने नगरको बजेट खर्चेर गमलामा खोर्सानी रोप्ने र त्यहाँ ट्याङ्करबाट पानी हाल्ने गरेको बताए । अध्यक्ष भट्टराईले भने ‘खोर्सानी गमलामा रोपेको छ, जनतालाई घरमा पानी छैन, ट्याङ्करमा लगेर पानी हालेको छ, त्यसको लागि आफ्ना मान्छे भर्ती गरेर कर्मचारीलाई तलब खुवाएको छ ।’

मेयर साम्पाङले आफ्नो आफन्त, शाखा सन्तानलाई जागिर दिएको आरोप लगाउँदै प्रश्न गरे ‘नगरपालिका हो कि साम्पाङ निवास हो ?’

मेयर साम्पाङकै गलत रवैया र कार्यशैलीको कारण धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएको अध्यक्ष भट्टराईको भनाई थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला हाल नगरमै भएपनि मेयर साम्पाङको गलत कार्यलाई साथ नदिँदा काम गर्न नदिएको अध्यक्ष भट्टराईले बताए ।

उनले भने ‘केही कर्मचारीहरू अवकाश पाए, त्यहाँ हर्क साम्पाङले आफ्नो मान्छे नियुक्ति गर्न दबाब दिए, जथाभाबी खर्च गरिएका बिल भौचर जर्बजस्ती पास गराउन खोज्दा प्रज्ञा निरौलाले नमानेपछि काम गर्न दिएका छैनन् ।’

भट्टराईले नियम कानुन अनुसार प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठक बोलाउने हो, प्रमुख प्रशासकीय नभएपछि माइन्युट हुँदैन र निर्णय प्रमाणीकरण पनि हुँदैन । त्यसैले मेयरले बोलाएको बैठक वैधानिक नभएकोले कार्यपालिका सदस्यहरू नगएको स्पष्ट पारे ।

वडाध्यक्ष भट्टराईले विधिसम्मत बोलाएको बैठकमा उपस्थित हुने बताउँदै मेयर साम्पाङ नीति, विधि र पद्धतिमा चल्नुपर्छ भन्ने कार्यपालिका सदस्यहरूको भनाई रहेको बताए । मेयर साम्पाङलाई वडाध्यक्षहरूले सधैँ साथ दिए पनि गलत प्रचारबाजी गरेर जनतामा भ्रम फैलाएको उनको भनाई छ । उनले भने ‘कोकाहबाट पानी ल्याउँछु भन्यो हुन्छ भन्यौँ, साबुन फ्याक्ट्री, बेसार फ्याक्ट्री खोल्छु भन्यो हुन्छ भन्यौ हामीले उहाँलाई कहाँ अवरोध र असहयोग गर्‍यौँ ?’

तर खै विकास भएको भन्दै फेसबुकमा मात्र विकास भएर काम गरेर हुँदैन, धरानका आमजनताले अनुभूति गर्ने साँच्चैको हुनुपर्छ विकास हुनुपर्ने बताए ।

Manoj-Bhattarai-KapuriNews