धरान : गोर्खा भूपू सैनिकहरूले धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न माग गर्दै मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र विक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरूले आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै उपमहानगरपालिकामा पछिल्लो गतिरोधको मुख्य कारण मेयर, उपमेयर र कार्यपालिका सदस्य बिचको आपसी विवाद भएको बताएका छन् । यसै कारणले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रभावित भएको उल्लेख गर्दै तत्काल कार्यपालिका बैठक बस्न माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा ब्रिटिस गोर्खा रेजिमेन्टल एसोसिएसन प्रसिडेन्ट मेजर झप्तमान लिम्बू, गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिस फोर्स एएसपी वीरेन्द्रविक्रम लिम्बू, भारतीय भूपू सैनिक एसोसिएसन सहसचिव कर्ण गुरुङले हस्ताक्षर गरेका छन् ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा काम गरिसकेको रकम भुक्तान हुन नसकेको, सामाजिक सुरक्षा सम्बन्धी सबै काम कारबाही प्रभावित भएकोले छिटो भन्दा छिटो धरानलाई अनिर्णयको बन्दीबाट फुकुवा गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउन गएका भूपूहरूलाई मेयर साम्पाङले ऐन नियमले दिएको अधिकार प्रयोग गरेको बताए । उनले भने ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ देशको मूल कानुन होइन ।’

ऐनको दफा १६ को (क) मा प्रमुखको काम कर्तव्य अधिकार अनुसार कार्यपालिका बैठक बोलाउने जिम्मा नगर प्रमुखको भएको बताए। मेयर साम्पाङले भने ‘कार्यपालिका सदस्यहरूले कति पटक बैठक बहिस्कार गर्छन् त्यो रेकर्ड राखेको छु।’

उपमेयर बेघाले भने मेयर साम्पाङले स्थानीय सरकार सञ्चालन ऐनको पदीय आचरण विपरीत कार्य गरेको बताए । उनले भने ‘धरान उपमहानगरपालिका अस्तव्यस्त हुनुको मुख्य कारण नगर प्रमुखको कार्यशैली हो ।’

गोर्खा भूपूहरू अफिसरको अनुशासनको उच्च प्रशंसा गर्दै भने ‘तपाईँहरूको ब्रिगेडमा तपाईँहरूले खुसीले पल्टन चलाउनु हुन्थ्यो कि पल्टनको नियम अनुसार चल्नु हुन्थ्यो ?’ उपमेयर बेघाले मेयर साम्पाङको तोक आदेश र मुखादेश कानुन सम्मत नभएकोका कारण समस्या सृजना भएको बताए ।

bhupu-letter