धरान : धरान-११ स्थित ज्ञानोदय माविका छात्राहरूसँग शिक्षक गोपाल गुरागाईँले यौन दुर्व्यवहार गर्दै आएको भनी लागेको आरोप बारे विद्यार्थी सङ्गठनहरूले छानबिन गरी दोषी साबित भए कारबाही गर्न माग गरेका छन् ।
विद्यालयका छात्राहरूले यौन दुर्व्यवहारको कुरा सार्वजनिक गरेपछि नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको प्रतिनिधि मण्डल बुधवार विद्यालय गएर प्रधानाध्यापक देवकुमार श्रेष्ठलाई आरोप बारे छानबिन गरी दोषी साबित भए कारबाही गर्न माग गरेका हुन ।
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य सङ्गीता बाहिङ राई, महेन्द्र क्याम्पस धरानका सभापति विनोद आले, शुभेच्छा राई र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य रविन श्रेष्ठ, तेज बहादुर राई सहितको टोली विद्यालय पुगेका हुन् ।
क्रान्तिकारी केन्द्रीय सदस्य रविन श्रेष्ठले छात्राहरूसँग दुर्व्यवहार भएको कुरा सञ्चार माध्यममा आएको ४८ घण्टा बितिसक्दा पनि विद्यालय प्रशासनले शिक्षक माथि कारबाही प्रक्रिया अगाडी नबढाएकोले दबाब दिन प्रतिनिधि मण्डल गएको बताए ।
उनले भने ‘स्कुललाई छानबिन गरी दोषी माथि तुरुन्त कारबाहीका लागि माग गरेका छौँ ।’ उनका अनुसार प्रधानाध्यापक श्रेष्ठ छानबिन गर्न मौखिक रूपमा सहमत भएका छन् । यदि विद्यार्थीलाई दबाब दिएको र बोली परिवर्तन गर्न लगाएको थाहा भए कडा आन्दोलनमा उत्रने तयारी गरिएको केन्द्रीय रविन श्रेष्ठको भनाई छ ।
विद्यार्थी नेताहरू विद्यालय पुग्दा र्दुव्यवहारको आरोप लगेका शिक्षक गोपाल गुरागाईँलाई बिदामा बसेको बताइएको थियो । बुधवारै स्कुलको आन्तरिक छलफलमा विद्यार्थीहरूले शिक्षक गुरागाईँले दुर्व्यवहार गरेकै कुरा राखेका थिए । सोही कुरा उल्लेख गरी प्रधानाध्यापक श्रेष्ठले धरान उपमहानगरपालिका  शिक्षा महाशाखामा छानबिनका लाग लिखित पत्र पठाएको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।
शिक्षक गुरागाईँले छात्राहरूलाई हात सुमसुम्याउने, ढाड तथा शरीरमा छाम्ने जस्ता क्रियाकलाप गर्ने गरेको विद्यार्थीहरूले बताएका छन् । विद्यालय स्रोतका अनुसार विद्यार्थीहरूले पटक पटक उजुरी गर्दै आए पनि प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीहरूलाई सम्झाउदैं ‘तिमीहरूलाई सरले माया गरेर छोराछोरी जस्तै लागेर गर्नु भएको हो गलत नसोच्नु’ भन्दै फर्काउने गरेका छन् ।
घट्ना सार्वजनिक भएपछि प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीहरूलाई प्रभावित गर्न ‘सरलाई कारबाही भई सक्यो अव अव सकिसकेको कुरा हो धेरै नबोल्नु’ भनेको छात्राहरूको भनाई छ । यसै बिच शिक्षक गुरागाईँ मङ्गलवार देखि बिदामा बसेका छन् ।
प्रमाणित भए शिक्षा ऐन अनुसार कारबाही गछौंः महाशाखा प्रमुख खतिवडा 
धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले ज्ञानोदय स्कुल मार्फत आधिकारिक जानकारी नआएको बताएका छन् । उनले समाचार चैँ पढेर थाहा पाएको बताए । उनले भने ‘दुर्व्यवहारको विषयमा चासो दिए पनि स्कुलबाट जानकारी आएको छैन स्कुलबाट जानकारी आउने बित्तिकै छानबिन गर्छौ ।’ यौन दुर्व्यवहार प्रमाणित भए शिक्षा ऐन नियम अनुसार शिक्षकलाई कारबाही प्रक्रियामा जाने खतिवडाले बताए ।
बालबालिकाको पक्षमा छु : उपमेयर बेघा
धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले ज्ञानोदय स्कुलको घटनाले चिन्तित बनाएको बताए । उनले भने ‘स्कुलका छात्राहरू माथि हुने कुनै पनि हिंसाजन्य क्रियाकलाप सह्य हुँदैन, गल्ती भएको छ भने शिक्षकलाई ऐन नियम अनुसारको कारबाही हुनुपर्दछ ।’ उनले न्यायिक समिति मार्फत चाडै पहल गर्ने बताए ।
गल्ती भएको हो भने जोगाउन मिल्दैन कारबाही गर्नुपर्दछ : अध्यक्ष फागो 
वडा ११ का अध्यक्ष लोकेन्द्र फागोले भने ‘शिक्षक गोपाल गुरागाईँले गल्ती गरेका हुने भने शिक्षक हो भनेर जोगाउन मिल्दैन कानुन बमोजिम कारबाही गरिनु पर्छ ।’ उनले वडाको विद्यालय भएकोले तुरुन्त सत्य तथ्य पत्ता लगाउन स्कुललाई दबाब दिएको एक पटक विद्यालयका प्रधानाध्यापकसँग छलफल भएको बताए ।