इटहरी : नेकपा एमाले इटहरी अधिवेशन सुरु भएको छ । शुक्रवार स्थायी कमिटी सदस्य शेरधन राईले अधिवेशन उद्घाटन गरेसँगै चुनावी माहौल तातिएको हो ।

अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै राईले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । मिसन ८४ को अभियानलाई सफल बनाउन पनि सर्वसम्मत नेतृत्वको आवश्यकता रहेका बताए ।

इटहरी एमालेको नेतृत्वमा वर्तमान कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । उनलाई पार्टीको संस्थापन लाइनले समर्थन गरेको छ । बस्नेतको मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका युवासंघ सुनसरी अध्यक्ष सुजन लामालाई उपाध्यक्षमा समेट्ने सहमति हुने सङ्केत देखिएको छ ।

तथापि शनिवार मनोनयन दर्ता हुने कार्यतालीका रहेकाले अध्यक्षमा थप उम्मेदवारी पर्न सक्ने बताइएको छ । अर्का दाबेदार उमेश पौडेलले हालसम्म पछि नहटेको बताइरहेका बेला केन्द्रीय सदस्य लक्ष्मी गौतमले सर्वसम्मति हुनसक्ने बताइन् । ‘उमेश जिले सर्वसम्मत भए आफू अध्यक्ष हुने बताउनु भएको हुँदा मतदानमा सहभागी जनाउनुहुन्न होला भन्ने लागेको छ । सुजन लामालाई उमेशजीले समर्थन गर्ने कि भन्ने विषयमा पनि हिजो कुरा चलेको थियो । तर सहमति भएन,’ उनले भनिन् ।

शेरधन राई आफैले सर्वसम्मतको लागि प्रयास गरिरहेका छन् । राईले आफै लामालाई समेटेर मात्र अगाडी बढ्नुपर्ने बताइरहेका छन् । अध्यक्षमा बस्नेतलाई समर्थन गरेका राईले उपाध्यक्षमा लामालाई सर्वसम्मत बनाउने बचन दिएका छन् ।

पूर्व जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले भने अहिलेसम्म कतैतिर समर्थनको सङ्केत गरेका छैनन् । भण्डारी र गौतमको समर्थन पाएका पौडेल लामा र बस्नेतको सहमति भए अत्यधिक मतले पराजित हुने अवस्थामा छन् । 

पार्टीको संस्थापन लाइन बस्नेतलाई भएपछि भण्डारी र गौतमले पौडेललाई समर्थन गरिरहन नसक्ने एक नेताले बताए । उनका अनुसार बस्नेतलाई अध्यक्ष बनाउन नहुने बताउँदै आएका भण्डारी र गौतम लामालाई पनि समर्थन नगरेपछि एक्लिएका छन् । लामो समय इटहरी एमालेमा एकछत्र प्रभावशाली रहेका नेता द्वय बस्नेतको नेतृत्व पछि कमजोर बन्ने उनको बुझाइ छ । 

उता महिला उपाध्यक्ष, सचिव, उपसचिव लगायत पदाधिकारीमा पनि सर्वसम्मत गर्ने बताइएको छ । तथापि उम्मेदवार धेरै भएकाले अध्यक्ष र उपाध्यक्षमा मात्र सहमति गरेर अन्य पदमा निर्वाचन गर्ने तयारी भएको छ । आइतबार हुने निर्वाचनमा ३३६ प्रतिनिधिले मतदान गर्ने भएका छन् ।