धरान : धरान-११ स्थित ज्ञानोदय माविका विद्यार्थीहरू माथि यौन र्दुव्यवहारको आरोप लागेका शिक्षक गोपाल गुरागाईँ विरुद्ध विद्यार्थी सङ्गठनहरूले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । जाहेरी दर्ता भने गरिएको छैन ।

विद्यार्थीहरू नेताहरू जाहेरी लिएर आइतबार इलाका प्रहरी कार्यालय धरानमा पुगेका हुन । इलाका प्रहरी धरानका डीएसपी मानबहादुर राई कार्यालय बाहिर निस्किएकाले जाहेरी तत्काल दर्ता नभएको विद्यार्थी नेताहरूले बताएका हुन ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य रविन श्रेष्ठले भने, ‘जाहेरी दिएर आएका छौँ, डीएसपी बाहिर निस्किएकाले दर्ता भएन, डिएसपी साबले दर्ता भए जत्तिकै हो भन्नु भएको छ।’ इलाका प्रहरीका प्रहरी निरीक्षक भीम राईले भने, ‘दर्ता हुन्छ ।’ पीडित विद्यार्थीले नै जाहेरी दिएका हुन ।

४ विद्यार्थी सङ्गठनको नेतृत्वमा पीडित विद्यार्थीहरू प्रहरीमा पुगेका हुन । ज्ञानोदय माविका छात्राहरू र दर्जन बढी पूर्व विद्यार्थीहरू शिक्षक गुरागाईँले गलत नियतले शरीरका विभिन्न भागमा सुमसुम्याउने गरेको बताएका छन् ।

उनीहरूका अनुसार शिक्षक गुरागाईँले ढाड, हात तथा शरीरका विभिन्न अङ्गमा सुमसुम्याउने गरेका थिए । ज्ञानोदय माविका पूर्व विद्यार्थीले पनि शिक्षक गुरागाईँले यौन दुर्व्यवहार गर्ने बताए । ती पूर्व विद्यार्थीले भने, ‘मोटरसाइकलमा बस्दा पनि टाँसिन लगाउँथे । हाम्रो साथीको मिनिस्कट कति छोटो भन्दै माथि उचाल्थे ।’

विद्यार्थी आन्दोलित

दुर्व्यवहार गर्ने शिक्षक गुरागाईँ विरुद्ध विद्यार्थी आन्दोलित बनेका छन् । ज्ञानोदयका विद्यार्थी सहित यस प्रकरणमा विद्यार्थी सङ्गठनहरू आन्दोलित बनेका हुन । उनीहरू आइतबार ज्ञानोदय माविबाट नारा जुलुस, प्लेकार्ड सहित धरान उपमहानगरपालिका पुगेका थिए ।

उनीहरूले जनप्रतिनिधिबाट शिक्षक बचाउने काम बन्द गर, शिक्षक गुरागाईँ मुर्दावाद, बालिका माथि हुने यौन दुर्व्यवहार बन्द गर, पीडित विद्यार्थीलाई न्याय दे, लगायतका नारा लगाएका थिए ।

अनेरास्ववियू, नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनसहित पीडित विद्यार्थीले दोषीलाई हदै सम्मको कारबाही माग गरेका छन् ।

नेविसंघ महेन्द्र क्याम्पसका इकाई सभापति विनोद आले मगर, अनेरास्ववियूका सुनसरी जिल्ला सहसचिव शेखर रेग्मी, महेन्द्र क्याम्पस अध्यक्ष अध्यक्ष प्रभात तामाङ, अखिल क्रान्तिकारी महेन्द्र क्याम्पस इकाई अध्यक्ष विपिन लिम्बू र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य युवराज राई अलौकिक उपमहानगरपालिका पुगेर दोषी शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।

उपमहानगरपालिका परिसरमा भएको कोणसभामा महेन्द्र क्याम्पस धरानका स्वतन्त्र विद्यार्थी युनियनका सभापति समेत रहेका युवा राईले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘जनप्रतिनिधिले दोषी शिक्षकलाई संरक्षण गरिरहेको सुन्नमा आएको छ । तत्काल कारबाही नगरे कडा आन्दोलनमा जान बाध्य हुन्छ ।’ उनले घट्नालाई दबाउन विद्यालय प्रशासन र जनप्रतिनिधि र सरोकारवाला पक्ष लागिरहेको बताए ।

कोणसभापछि विद्यार्थीहरू मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण गराउन पुगेका थिए तर मेयर साम्पाङले समय दिएनन् । लगत्तै उनीहरू उपमेयर अइन्द्र विक्रम बेघालाई भेटेर ध्यानाकर्षण गराए ।

उपमेयर बेघाले प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई, शिक्षा महाशाखा प्रमुख र विद्यालयका प्रधानाध्यापक देव कुमार श्रेष्ठ सहित छलफल गरेका थिए । छलफलमा पीडित विद्यार्थीले शिक्षक गुरागाईँले दुर्व्यवहार गर्ने गरेको बताए ।

छात्राहरूले भने, ‘विद्यालयको छलफलमा हामीलाई विद्यालयको इज्जतको लागि झुट बोल्न लगाएको तर हामीले कुनै पनि हालतमा झुट बोल्दैनौँ ।’ 

छलफलमा एक छानबिन समिति बनाउने तयारी गरिएको थियो । तर अनेरास्ववियूका केन्द्रीय सदस्य शेखर रेग्मीले बालबालिका माथिको यौन दुर्व्यवहार जस्तो संवेदनशील घट्नामा छानबिन समिति किन बनाउने ? तपाइहरू क्षेत्राधिकार प्राप्त निकाय हो ? भनी प्रश्न गरे ।

रेग्मीको भनाई पछि उपमेयर बेघाले प्रहरीमा नै जाहेरी दिन अनुरोध गरेका हुन ।

४ विद्यार्थी सङ्गठनको वक्तव्य

विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको प्रकरणमा ४ विद्यार्थी सङ्गठनका नेबि सङ्घ केन्द्रीय सदस्य दोर्ची शेर्पा, अनेरास्ववियु केन्द्रीय सदस्य शेखर रेग्मी, अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य रबिन श्रेष्ठ ,समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य युवराज राई अलौकिकले प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘धरान उपमहानगरपालिका वडा-११ मा स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक गोपाल गुरागाईँले विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको घटनाको तत्काल सूक्ष्म छानबिन गरी दोषी उपर कडा कारबाही गरी पीडित विद्यार्थीहरूलाई न्याय दिलाउनका लागि जोडदार माग गर्दछौँ ।’

कसैको राजनीतिक दबाबमा घटनालाई तोडमोड गरी दोषी जोगाउन खोजिएमा विद्यार्थी सङ्गठन सशक्त रूपले सडकमा उत्रने र यसको परिणामको जिम्मा सम्बन्धित पक्षले लिनु पर्ने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

StudentPR-KapuriNews