धरान : धरान-११ स्थित ज्ञानोदय माविका शिक्षक गोपाल गुरागाईँ  बाल यौन दुरुपयोगमा पक्राउ परेका छन् ।

आरोपित शिक्षक गुरागाईँलाई बुधवार दिउँसो इटहरी तरहरा स्थित आफ्नै घरबाट पक्राउ गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए ।

प्रवक्ता भण्डारीका अनुसार बाल यौन दुरुपयोगमा जाहेरी दर्ता भएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

ज्ञानोदय माविका दर्जन बढी छात्राहरूले शिक्षक गुरागाईँले अनावश्यक रूपमा शरीरका विभिन्न भागमा सुमसुम्याउने, स्कर्ट उचाल्ने, तिघ्रा सुमसुम्याउने गरेको बताएका थिए ।

उनीहरूका अनुसार शिक्षक गुरागाईँले ढाड, हात तथा शरीरका विभिन्न अङ्गमा सुमसुम्याउने गरेका थिए ।

पछिल्लो समय पीडित छात्राहरू मिडियामा बोल्न बाध्य भएका थिए । आइतबार विद्यार्थीहरूले प्लेकार्ड सहित नारा जुलुस सहित पुगेर इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता गराएका थिए ।

धरानमा भएका ४ विद्यार्थी सङ्गठनले शिक्षक गुरागाईँलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने संयुक्त रूपमा विज्ञप्ति मार्फत माग गरेका थिए ।