धरान : छात्राहरूसँग यौन दुर्व्यवहारको आरोप लागेका धरान-११ स्थित ज्ञानोदय माविका शिक्षक गोपाल गुरागाईँले इटहरीमा पत्रकार सम्मेलन गरी आफूले दुर्व्यवहार नगरेको बताइरहेको बेला धरानमा उनी विरुद्ध पीडितले दिएको जाहेरी इलाका प्रहरी कार्यालयमा दर्ता भएको छ ।

शिक्षक विरुद्ध बाल यौन दुरुपयोगमा जाहेरी दर्ता भएको हो । प्रहरीले जाहेरी दर्ता गरिएसँगै उनले इटहरी पुगेर छात्राहरूलाई राजनीतिक पार्टीले उचालेको बताउँदै आरोपबाट बच्न राजनीतिकरण गर्न खोजेको विद्यार्थी नेताहरूले बताएका छन् ।

जाहेरी दर्ता भएको ४८ घण्टा बितेको छ । बाल यौन दुरुपयोगमा २४ घण्टा भित्र पक्राउ गरी मुद्दा दर्ता गर्नु पर्ने व्यवस्था छ । प्रहरीले खोजी कार्य तीव्र रहेको बताए पनि प्रहरी र राजनैतिक दलकै संरक्षणमा आरोपित शिक्षकले चुनौती दिन खोजेको उनीहरूको भनाई छ ।

इलाका प्रहरी कार्यालय धरानमा सोमवार शिक्षक गुरागाईँ विरुद्ध पीडित विद्यार्थीहरूले अभिभावकको संरक्षणमा जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीन कृष्ण भण्डारीले कानुनी कारबाहीको प्रक्रिया सुरु भएको बताए ।

प्रवक्ता भण्डारीले भने, ‘ढुक्क हुनुस् खोजी प्रक्रियामा छौ, भागिराख्नु भएको छ ।’ कानुन बमोजिम सजाय हुने उनले बताए । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर भीम राईले शिक्षक विरुद्ध बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दर्ता भएको जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार नै मुद्दा दर्ता भएको हो । उनले भने, ‘बाँकी कानुन अनुसार अघि बढ्छ ।’ पीडित बालबालिकाहरू शिक्षक गुरागाईँ विरुद्ध आइतबार नै इलाका प्रहरी कार्यालय पुगेर जाहेरी दिएका थिए । तर, प्रहरीले दर्ता गरेको थिएन ।

आइतबार विद्यार्थीहरू प्लेकार्ड सहित नारा जुलुस गर्दै सडकमा नै उत्रिएपछि प्रहरीले जाहेरी दर्ता गरेको छ । विद्यार्थीहरू शिक्षक गुरागाईँ मुर्दावाद, यौन दुर्व्यवहार गर्ने शिक्षक गोपाल गुरागाईँलाई तुरुन्त कारबाही गर, बालिका माथि हुने यौन दुर्व्यवहार बन्द गर जस्ता नारा लगाउँदै धरान उपमहानगरपालिकामा कोणसभा गरेका थिए ।

धरानमा भएका ४ विद्यार्थी सङ्गठनले शिक्षक गुरागाईँलाई कानुनी दायरामा ल्याई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै संयुक्त रूपमा विज्ञप्ति नै सार्वजनिक गरेका छन् ।

के हो बाल यौन दुरुपयोग ?

बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ मा बालबालिका विरुद्ध हुने कसुर सम्बन्धी व्यवस्था छ । दफा ६६ को उपदफा (३) मा कस्तो कार्यलाई बाल यौन दुर्व्यवहार मानिन्छ र त्यस्तो कार्य गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने व्यवस्था छ ।

उपदफा ३ (क) अश्लील तथा यौनजन्य आचरण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लीलता प्रदर्शन गर्ने, गराउने गरेमा बाल यौन दुरुपयोग गरेको मानिने उल्लेख छ । यस्तो गतिविधि गर्ने व्यक्तिलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ ।

यस्तै, दफा ६६ को ३ (ङ) मा यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा छुने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो, अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन, समाउन लगाएमा बाल यौन दुरुपयोग भएको मानिने उल्लेख छ ।

यस्तो कसुर ठहरेमा ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ । साथै, यस्तो कसुर गर्नेलाई बालबालिका सम्बन्धी ऐन २०७५ ले प्रचलित कानुन अनुसार जबरजस्ती करणीको कसुरमा कारबाही हुने भनेको छ ।

यो प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता हो । अपराध संहिताको परिच्छेद १८ को दफा २१९ मा जबरजस्ती करणीसम्बन्धी कसुरमा सजायको व्यवस्था छ । जसमा कुनै महिलाको मन्जुरीबिना करणी गरेमा वा १८ वर्षमुनिका बालिकालाई मनाएरै करणी गरेपनि जबरजस्ती करणी मानिने उल्लेख छ ।

१४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ ।