इटहरी : धरान उपमहानगरपालिका वडा नम्बर ११ को ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई फसाउन खोजेको आरोप लागेको छ ।

विद्यालय व्यवस्थापन समिति गठन गर्दा फर्जी अभिभावक बोलाएको विषयमा प्रश्न उठाएका गोपाल गुरागाईँलाई फसाउन खोजेको आरोप लागेको छ ।

नेकपा माओवादी केन्द्रको वर्चस्व रहेको विद्यालय व्यवस्थापन समितिमा असहयोग गरेको भन्दै छात्रामाथि दुर्व्यवहारको मुद्दा लगाउने प्रयास भएको हो ।

‘विद्यालयको हित चिताई कानुन बमोजिम विद्यालय व्यवस्थापन समिति गठन हुनु पर्छ र विद्यार्थीहरूकै अभिभावकले व्यवस्थापन समितिको नेतृत्व गर्नुपर्छ तब मात्र विद्यालय र विद्यार्थीहरूको सामूहिक स्तरोन्नति हुन सक्छ भन्ने कुरा उठाएको हुँ,’ उनले भनेका छन् । 

‘अमुक राजनीतिक दलको यस विद्यालय माथिको दलगत स्वार्थ पुरा नहुने भएपछि म माथि यस प्रकारका कपोलकल्पित हर्कत भएको हो भन्ने मेरो ठम्याई छ,’ थप प्रष्ट पार्दै विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सोही विषयमा धरान उपमहानगरपालिकामा उजुरी परेपछि फर्जी अभिभावकको रूपमा व्यवस्थापन समितिमा प्रवेश भएका तिलक राई र केदार राई निलम्बनमा परेका थिए ।

त्यसपछि आफूलाई राजनीतिक दलको व्यक्तिहरूले फोन गरी धम्कीपूर्ण भाषा प्रयोग गरेको शिक्षक गुरागाईँले बताए । विद्यालयका छात्राहरूलाई कहिल्यै कुनै हिसाबको हिंसा हुने अभिव्यक्ति र व्यवहार नगरेको उनले प्रष्ट पारेका छन् ।

विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक लगायत विद्यार्थीहरूलाई अनुशासित र मर्यादित वातावरण निर्माण गर्न भ्याएसम्म मेहनत गरेको उनको भनाइ छ ।

२०८१ असार ३ विभिन्न मिडिया, अनलाइनमा छात्राहरू माथि दुर्व्यवहार भएको, झुटा र तथ्यहीन समाचार सम्प्रेषण भएकोमा स्तब्ध भएको बताए । विद्यार्थी माथि अभद्र व्यवहार गरेको आशङ्का भएमा विद्यालय हाताभित्र रहेको सिसिटिभी फुटेज हेरी अनुसन्धान गर्न आग्रह गरेका छन् ।

२०६५ सालदेखि शिक्षण पेसामा रहेको र शिक्षक सेवा आयोग उत्तीर्ण गरी मिति २०७१ भदौ देखि ज्ञानोदय मा.वि. धरानमा हाजिरी भएको उनले उल्लेख गरेका छन् ।