इटहरी : नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित भयो । केन्द्रीय र जिल्ला स्तरका नेताहरूको दबाब र प्रभावको कारण निर्वाचन कार्यतालीका विपरीत निर्देशन भएपछि अधिवेशनमा किचलो भएको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष जगदीश प्रसाद कुसियैतले निर्वाचन कार्यतालीका फेरबदल गर्न दबाब दिएपछि निर्वाचन समितिले राजीनामा दियो । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारी हेरफेर गर्न पाउने गरी कार्यतालीका परिवर्तन गर्न दबाब आयपछि निर्वाचन समिति बाहिरिएको हो । अध्यक्ष मण्डलले भने शनिवार सम्मको लागि निर्वाचन कार्यक्रम स्थगित गर्ने जनाएको छ ।

मुख्यतः स्थायी कमिटी सदस्य शेरधन राईको दबाब र प्रभावको कारण अधिवेशन स्थगित भएको स्थानीय नेताहरूले जनाएका छन् । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत गर्ने राईको योजना विपरीत मनोनयन दर्ता भएपछि निर्वाचन तालीका प्रभावित भएको बताइएको छ ।

अधिवेशनका उम्मेदवार समेत रहेका एक नेताले लोकतान्त्रिक पार्टीमा नेताको हुकुमी शैलीले काम गरेको बताए । लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने विधि र पद्धतिलाई लत्त्याउँदै बलजफ्ती गर्न खोजेको उनको भनाइ छ ।

राईले अध्यक्षमा रुपेश बस्नेतलाई सर्वसम्मत बनाउने तयारी गरेका छन् । बस्नेतलाई अध्यक्ष निर्वाचित गराउन अर्का दाबेदार सुजन लामालाई उपाध्यक्षमा सर्वसम्मत गराउने उनले बचन दिएका थिए । तथापि अध्यक्षमा उमेश पौडेल र ऋषि नेपालको उम्मेदवारी परेपछि बस्नेत सर्वसम्मत भएनन् ।

उपाध्यक्षमा पनि मन्दीरा भट्टराईले उम्मेदवारी फिर्ता गर्न नमानेपछि निर्वाचन तालीका प्रभावित भएको हो । कार्यकर्ताले राईको निर्णयलाई नटेरेपछि अधिवेशन स्थगित भएको हो । आगामी शनिवार हुने निर्वाचनमा पदाधिकारीका उम्मेदवारले अन्य पदमा उम्मेदवारी परिवर्तन गर्न पाउने अध्यक्ष मण्डलले निर्णय गरेको छ ।

अध्यक्षका उम्मेदवार नेपालले उम्मेदवारी फिर्ता लिने तयारी गरिरहँदा निर्वाचन कार्यतालीका नै प्रभावित भएपछि हालसम्म अध्यक्षमा तिन जनाको उम्मेदवारी कायम छ ।

उता पौडेललाई पनि सहमतिका ल्याएर उम्मेदवारी नदिने गरी नेताहरू बिच सहमति भएको थियो । पौडेलले भने आफूलाई नसोधी भएको निर्णय मान्य नहुने भन्दै उम्मेदवारी दिएका छन् । पुनः उम्मेदवारी परिवर्तन गर्न पाउने भएपछि लामाले अध्यक्षको दाबी गरेका छन् भने उपसचिवमा उम्मेदवारी दिएका जितेन थापाले उपाध्यक्षमा मनोनयन गर्ने भएका छन् । लामा र बस्नेतले एक अर्कालाई सघाएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् ।

एक पदीय सचिवमा राजेन्द्र केशरी घिमिरे, गोपाल गिरी र मदन कार्कीले उम्मेदवारी दिएका छन् । घिमिरेलाई बस्नेत पक्षको साथ छ भने लामा पक्षबाट गिरी वा कार्की कसलाई समर्थन गर्ने भन्ने यकिन भइसकेको छैन ।

उपसचिवमा पनि पार्टीको संस्थापन लाइन विरुद्ध धेरै उम्मेदवारी परेको छ । संस्थापन तर्फबाट उम्मेदवार रहेका सुनिल कार्कीलाई अन्य प्रभावशाली युवाहरूको उम्मेदवारीले चर्को पर्ने देखिएको छ । कार्की विरुद्ध मनोज कुमार राय, तेजनारायण चौधरी र समीर कार्कीले उम्मेदवारी दिएका छन् । महिला उपसचिवमा पनि विमला लम्साल र रञ्जु सिग्देलको प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि ९ गते आइतबार हुने भनिएको निर्वाचन १५ गते शनिवार सम्मको लागि सरेको छ । अगामी शनिवार पनि नेतृत्वमा सहमति नभए निर्वाचन हुने नहुने यकिन भएको छैन । सुनसरी इन्चार्ज समेत रहेका शेरधन राईले सहमति गराए पनि कार्यकर्ताले सोही अनुसार नमान्दा उनी निरीह भएका हुन् ।