धरान : प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा रामेछापबाट खयरको काठ लिएर आएको ४ वटा ट्रक मङ्गलवार राती धरान-८ तीनकुनेबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

खयर सहितको ट्रक नियन्त्रणमा लिन राती १० बजे प्रमुख जिल्ला अधिकारी तिवारी सुरक्षाकर्मी सहित स्वयं उपस्थित थिए ।

उनका अनुसार ४ वटा ट्रकमा खयरको लकडी चोरी पैठारी भएको विशेष सूचना पाएकोले काठ सहित ट्रकहरू स्वयं उपस्थित भई नियन्त्रणमा लिइएको हो ।

प्रजिअ तिवारीले भने 'विशेष सूचना प्राप्त भएपछि आफ्नै रोहवरमा नियन्त्रण गर्ने भन्ने सूचना प्रहरी र वन कार्यालयलाई दिएर योजनाबद्ध रूपमा नियन्त्रणमा लिइएको हो ।'

उनका अनुसार वनको टाँचा लगाएर खयरको काठ पठाएको सूचना प्राप्त भएको थियो । प्रजिअ तिवारीले भने ‘नियन्त्रणको क्रममा प्रारम्भिक चेकजाँच गर्दा सिल तोडिएको भेटिएकोले शङ्कास्पद लागेको हुँदा मेरै अघि मुचुल्का समेत बनाएको हुँ ।’

प्रजिअकै नेतृत्वमा नियन्त्रणमा लिइएको खयरको काठ सहितका ट्रकहरू मुचुल्का उठाएर वन कार्यालयलाई जिम्मा दिइएको छ । प्रजिअ तिवारीले भने ‘वन कार्यालयले जाँचबुझ गर्दैहोला ।’

रामेछाप जिल्ला देखि नै सेटिङमा काठ आएको बुझिएकोले वन सुरक्षा टोली र प्रशासन सहितको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

उक्त खयरको काठ रामेछापबाट सुनसरीको सूर्य काष्ठ उद्योगमा ल्याउँदै गरेको अवस्थामा धरानमा ट्रक सहित काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख विक्रम अमात्यले बताए ।

उनले भने ‘छुट पुर्जीमा आएको पाइएको छ ।’ बाटोमा शङ्कास्पद कुरा भएको जानकारी आएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाई छ ।

डिभिजन बन प्रमुख अमात्यले भने ‘प्रदेश सरकारलाई ई-सेवा मार्फत भ्याट शुल्क तिरेको छ ।’ काठ अवैध भएकोले म्याद थप समेत भई जाँचबुझ भइरहेको उनले बताए ।

जाँचबुझका लागि सब डिभिजन वन कार्यालय पाँचकन्याका अधिकृत महेश कुमार शाह र अधिकृत रमेश रेग्मी टोली गठन गरिएको प्रमुख आमात्यले बताए ।

उनका अनुसार बाटोमा आउने क्रममा सिल तोडिएको बारेमा जाँचबुझ केन्द्रित छ । ४ वटा ट्रकमा करोडौँ मूल्यको खयरको काठ रहेकोले गहन ढङ्गले वन कार्यालयले अध्ययन सुरु गरेको अमात्यको भनाई छ ।