धरान : कोशी प्रदेश सरकारको बजेटमा धरान १७ कुम्भी आहालमा थप वेल बनाउन भइरहेको डिप बोरिङको काम रोक्न वन कार्यालयले दिएको निर्देशनलाई धरानका राजनीतिक दलहरू, सांसदहरू र जनप्रतिनिधिहरूले प्रतिकार गरेका छन् ।

सुनसरी वन डिभिजन कार्यालयको टोलीले मङ्गलवार कुम्भी आहालमा डिप बोरिङ कार्यस्थलमै पुगेर तत्काल रोक्न आदेश दिएको थियो।

उक्त खबर पाए लगत्तै धरानका क्रियाशील १० राजनैतिक दल सहित कोशी प्रदेशसभा सदस्यत्रय रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, पूर्व सङ्घीय सांसद जयकुमार राई, पूर्व सभामुख प्रदीप भण्डारी, पूर्व उपमेयर मीन सुब्बा सहित जनप्रतिनिधीहरु प्रतिकार गर्न बुधवार बिहानै कुम्भी आहाल पुगेका थिए ।

प्रतिकार गर्न पुगेका टोलीले वन डिभिजनको जस्तोसुकै कारबाही सहेर भए पनि धराने जनतालाई पानी खुवाउने बताएका छन् ।

धराने जनताका लागि वन कार्यालयसँग छलफल गर्दै सहकार्य गरेर अगाडी बढ्ने माओवादी नेता चोत्लुङल बताए । उनले भने ‘वनसँग जस्तासुकै प्रतिकार गर्न हामी तयार छौँ ।’

सुनसरी बन डिभिजनका डिएफओ धर्मानन्द यादवले सम्बन्धित कार्यालयहरूमा बन क्षेत्रमा बोरिङको काम रोक्न पत्राचार गरिएको बताएका छन् । उनले भने ‘वनको विना इजाजत डिप बोरिङ कार्य सुरु भएकाले तत्काल रोक्न आग्रह गर्दे पत्राचार गरिएको हो ।’

कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले भने ‘धरानलाई खानेपानी खुवाउन हामी सांसदहरू जस्तोसुकै कारबाही भोग्न तयार छौँ ।’ डिप बोरिङ खन्नेलाई कारबाही होइन सांसदहरूलाई पक्राउ गरी कारबाही गर्न डिएफोलाई आग्रह गरिएको उनले बताए ।

जस्तोसुकै अवस्थामा पनि डिप बोरिङ कार्य रोक्का नहुने उनको भनाई छ । उनले भने ‘बोरिङबाट पानी निकालेर एडिबीको पाइपमा जोडेर खानेपानी बोर्डलाई हस्तान्तरण गरेर धरानेलाई पानी खुवाएरै छाड्छौ ।’

तिन वटै डिप बोरिङबाट पानी निकाल्ने काम सकिएपछि खानेपानीको संरचना जोड्ने काम सुरु गर्न बहुवर्षे योजनाको प्रस्ताव पनि गरिएको उनले बताए ।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ मा छुट्याएको बजेटमा ३ वटा डिप बोरिङ वेल मध्ये तीनकुने दक्षिण चारकोशे जङ्गलमा २ डिप बोरिङका कार्य सकिएको छ ।

३ वटै डिप बोरिङका लागि खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरबाट डिप बोरिङको लागि आर्थिक वर्ष ०८०/८१ मा  छुटाएको ४ करोड मध्येबाट ३ वटा डिप बोरिङका लागि १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा ठेक्का लागेको हो ।

चालु वर्ष ०८१/८२ मा कोशी प्रदेश सरकारद्वारा थप वेलका लागि ३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

ठेक्का खानेपानी तथा सिँचाइ कार्यालय इटहरीबाट लगाइएको हो । डिप बोरिङको ठेक्का चितवनको श्रीमान् ड्रिलिङ एन्ड कन्स्ट्रक्सन प्रालिले बोरिङ कार्य सञ्चालन गरिरहेको छ ।

डिप बोरिङको विपक्षमा रहेका धरान नगर प्रमुख हर्क साम्पाङले भने प्रदेश सरकारको बजेट आफ्नो पहलमा आएको बताउन थालेको उनको फेसबुक स्टाटसहरु देखिन्छ । राजनीतिक दलहरूले त्यसलाई ‘जस लिने होडमा सामाजिक सञ्जालमा फोटो र स्ट्याटस पोष्ट गर्न थालेको’ भनी टिप्पणी गरेको छन् ।

dharan-khanepani-poltical-P