धरान : धरानमा खानेपानीको आपूर्ति बढाउन कोशी प्रदेश सरकारको बजेटमा धरान-१७ कुम्भी आहालमा थप वेल निर्माणको लागि धमाधम डिप बोरिङको काम भइरहेको छ ।

उक्त नयाँ बोरिङको काम असार २४ गते देखि सुरु गरिएको हो । बोरिङ कार्यको प्रगति अनुगमन गर्न शनिवार प्रदेशसभा सदस्य द्वय रमेश बस्नेत र विजयकुमार राई कुम्भी आहाल पुगेका थिए ।

खानेपानी सिचाई तथा ऊर्जा मन्त्रालय सचिव प्रदीप बान्तवा तथा खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख सयनकुमार श्रेष्ठ, १७ वडाध्यक्ष मनोज भट्टराई, जिल्ला समन्वय सदस्य शेष कुमारी घिमिरे, माओवादी केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङवोको टोली सहितको प्राविधिक टोलीको स्थलगत अनुगमन गरी धरान-१७ कुम्भी आहाल छेउको बाटो पश्चिम स्थल छनौट गरेको ठाउँमा डिप बोरिङ सुरु भएको हो ।

सांसद राईले प्रदेश सरकारको बजेटमा ३ वटा डिप बोरिङ वेलका तयार भएपछि यस वर्षको सुख्खा मौसममा पानी धराने जनतालाई समानुपातिक रूपमा  वितरण गरिने बताए ।

४ करोड बजेट मध्ये 'डिप बोरिङ' गरी बचेको रकम खानेपानी संरचना जडानमा खर्च गरिने उनले बताए । उनका अनुसार प्रदेश सरकार थप वेलका लागि आर्थिक वर्ष ०८१/८२ मा ३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

खानेपानी तथा सिँचाइ कार्यालय इटहरीका प्रमुख सयन कुमार श्रेष्ठका अनुसार ३ वटा डिप बोरिङको काम असार मसान्त सम्ममा सकिने भनिए तापनि विविध प्राविधिक तथा वन कार्यालयको कारण समय सीमा भन्दा पर गएको बताए ।

तिन वटै डिप बोरिङबाट पानी निकाल्ने काम सकिएपछि खानेपानीको संरचना जोड्ने काम सुरु गर्न बहुवर्षे योजनाको प्रस्ताव पनि गरिएको उनले बताए । 

तीनकुने दक्षिण चारकोशे जङ्गलमा २ डिप बोरिङका लागि वैशाख १४ गते देखि काम सुरु भएको थियो । आव २०८०/८१ मा छुट्याएको बजेटमा ३ वटा डिप बोरिङ वेल मध्ये २ वटा डिप बोरिङको काम सकिएको छ ।

३ वटै डिप बोरिङका लागि खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरबाट डिप बोरिङको लागि आर्थिक वर्ष ०८०/८१ मा  छुटाएको ४ करोड मध्येबाट ३ वटा डिप बोरिङका लागि १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा ठेक्का लागेको हो ।

ठेक्का खानेपानी तथा सिँचाइ कार्यालय इटहरीबाट लगाइएको हो । डिप बोरिङको ठेक्का चितवनको श्रीमान् ड्रिलिङ एन्ड कन्स्ट्रक्सन प्रालिले बोरिङ कार्य सञ्चालन गरिरहेको छ । अव १५ दिन भित्र डिप बोरिङको कार्य सम्पन्न हुने प्रालीले जनाएको छ ।

Deep Boring Dharan News 2