इटहरी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औँ जिल्ला कमिटी अधिवेशन भव्यताका साथ उद्घाटन भयो । केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यमा साउन ४ गते उद्घाटन भएको अधिवेशन नेतृत्व चयन नगरी स्थगित भएको हो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै प्रतिनिधि बोल्ने क्रम स्थगित गरेर अधिवेशन रोकिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका प्रदेश अध्यक्ष गङ्गा बहादुर खड्का (जिबी गजल)ले बन्द सत्र स्थगित गरेका हुन् । प्रतिनिधिहरूले अनेरास्ववियुको नेतृत्वको आलोचना गर्दै निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा राखिरहेको बेला जिबी गजलले तत्कालको लागि स्थगित गरेको बैठक हालसम्म बस्न सकेको छैन ।

अध्यक्ष जिबी गजलले छलफल जारी रहेकाले केही समयमै नेतृत्व सहित हलबाट कमिटी घोषणा गर्ने बताए । अधिवेशन स्थगित भएपछि नेतृत्व चयन हुने यो पहिलो घटना नभएको बताए । छलफलको क्रम जारी रहेकाले केही दिनभित्रमै टुङ्गो लाग्ने उनको विश्वास छ । गिरिजा प्रसाद कोइरालाको भनेजस्तै सहमति, सहकार्य र एकताका साथ नेतृत्व चयन हुने उनको भनाइ छ ।

अध्यक्ष नवराज खड्काले पनि चाडै नेतृत्व चयन गर्न लागिएको प्रष्ट पारे । किन स्थगित भएको भन्ने प्रश्नमा प्रस्ट खुल्न नचाहेका उनले सहमतिकै आधारमा अगाडी बढ्ने जानकारी दिए । को व्यक्तिलाई अध्यक्ष बनाउने भन्दा पनि कसरी बनाउने भन्ने विषयमै कुरा अड्किएको उनको भनाइ छ ।

वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठलाई समेट्ने विषयमा कुरा नमिलेपछि सहमति जुट्न नसकेको हो । सुनसरी क्षेत्र नम्बर २ को सचिव हुँदै जिल्ला कमिटीमा पुगेका श्रेष्ठ अध्यक्षको लागि तयारीमा रहँदै आएका थिए । श्रेष्ठलाई अध्यक्ष नबनाए कता समेट्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।

उता प्रदेश अध्यक्षको साथ पाएका उज्ज्वल सिग्देल अध्यक्षको बलियो दाबेदार छन् । प्रतिनिधिमा बलियो प्रभाव नभएपछि नेताहरूमाझ सिग्देलको चर्चा बढी छ । जनता बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष समेत रहेका उनी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएका थिए ।

महेन्द्र बहुमुखी लगायत धरानका ४ वटा आङ्गिक क्याम्पस (पिन्डेश्वर, महेन्द्र, इन्जिनियरिङ र हात्तीसार) मा पकड भएको बताउने शेखर रेग्मी पनि अध्यक्षका दाबेदार छन् । सिग्देल र रेग्मी वर्तमान कमिटीका सहसचिव हुन् । श्रेष्ठको नाममा सहमति भए आफू पछाडि हट्ने रेग्मीले बताए । निर्वाचन नै भए श्रेष्ठलाई सघाउने र सर्वसम्मत भएको अवस्थामा दाबी जारी राख्ने उनको भनाइ छ । सिग्देलले निर्वाचन नै भए पनि भिडेर अगाडी बढ्ने बताएका छन् ।

सुनसरी जिल्ला इन्चार्ज रोशन रेग्मीले भने उपाध्यक्ष श्रेष्ठलाई अध्यक्ष बनाएर सिग्देल र रेग्मीलाई उपाध्यक्ष वा सचिव मध्ये मिलाएर लैजाने विकल्पमा समेत छलफल भएको बताए । उपाध्यक्ष श्रेष्ठको नाममा सहमति नभए नयाँ व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने उनले विकल्प दिए । सहमतिको सम्भावना नभए निर्वाचन मार्फत नेतृत्व चयन गर्न विलम्ब गर्न नहुने उनको भनाइ छ ।

नेकपा एमाले सुनसरीले भने सर्वसम्मत नभए प्रक्रियाबाटै नेतृत्व चयन गर्न आग्रह गरेको छ । कार्यबहाक अध्यक्ष पर्शुराम यादवले निर्वाचनको प्रक्रिया खुल्ला रहेकाले सोही विकल्प प्रयोग गर्न सुझाव दिएका छन् । अनेरास्ववियु सुनसरीमा ५१ प्रतिनिधिले मतदान गर्ने सिग्देलले जानकारी दिए ।   

विगतमा पनि बलजफ्ती 

अध्यक्ष मण्डलका अध्यक्ष गजल सिग्देललाई अध्यक्ष बनाउनै पर्ने अडानमा छन् । निर्वाचन परिणाम फरक आउन सक्ने अनुमान गरेका उनले केही दिन लम्ब्याएर नेतृत्व चयन गर्ने तयारी गरिरहेका छन् । विगतकै अनुभवका आधारमा पनि अधिवेशन लम्ब्याउने कसरतमा छन् उनी ।

अनेरास्ववियु सुनसरीमा लामो समयदेखि अधिवेशनमा किचलो हुँदै आएको छ । सर्वसम्मतको नाममा नेतृत्वको हस्तक्षेप हुँदा विद्यार्थीहरू असन्तुष्ट हुँदै आएका छन् । पछिल्लो समय १९ औँ अधिवेशनमा जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीले हस्तक्षेप गरेर एकराज दाहाललाई अध्यक्ष घोषणा गरे । त्यस बेला जिबी गजल सुनसरीका लोकप्रिय विद्यार्थी नेताको रूपमा उदाएका थिए । अध्यक्षका दाबेदार गजललाई पछाडि पारेर दाहाललाई अध्यक्ष घोषणा गरिएको थियो ।

सोही अनुसार २० औँ अधिवेशनमा पनि निर्वाचन हुने अवस्थामा प्रतिनिधि विवाद निकालेर अधिवेशनमा भाँडभैलो भयो । तत्कालीन अध्यक्षका दाबेदार वसन्त सुवेदी र जिबी गजल बिच निर्वाचन हुन सकेन । पछि एमाले जिल्ला कमिटी अध्यक्ष द्वारीकलाल चौधरीले गजलको नाम घोषणा गरेपछि अध्यक्ष चयन भए ।

२१ औ अधिवेशनमा पनि निर्वाचन नगरी रोशन रेग्मीलाई अध्यक्ष चयन गरियो । २२ औँ अधिवेशनमा पुनः अध्यक्ष दोहोर्‍याउने तयारीमा रहेका रेग्मीलाई पन्छाएर नवराज खड्काको नाममा दबाब मूलक रूपमा सर्वसम्मत गराइएको थियो ।

विगतमा टिका माङ्ले, डेगराज फुयाँलको समयमा पनि अनेरास्ववियु भित्र गुटबन्दी र हस्तक्षेप कायमै थियो । सोही क्रम २३ औँ अधिवेशनमा पनि हुने प्रस्ट सङ्केत देखिएको छ । नेकपा एमाले पार्टी सहित अनेरास्ववियु भित्रकै शक्ति सङ्घर्षको कारण सिग्देललाई अध्यक्ष घोषणा गर्ने गरी तयारी भइरहेको छ ।