इटहरी : २०७९ सालको अन्त्यसम्म इटहरीको मुख्य चोक आसपास देखिने ठुलो खालका निलो रङ्गका डस्टबिन अहिले बेपत्ता भएका छन् । फोहोरमैला व्यवस्थापनमा फरक प्रविधि अपनाउने भन्दै इटहरी उपमहानगरपालिकाले किनेका डस्टबिनलाई पूर्ण प्रयोगमा ल्याउन सकेन ।

मुख्य बजार क्षेत्रमा राखिएका ठुला डस्टबिन उचाल्न धेरै जनशक्ति चाहीने भएपछि प्रयोगमा नआएको बताइएको छ । डस्टबिन उचाल्न र राख्न मेसिनै चाहीने हुँदा काममा ल्याउन नसकेर थन्क्याउनु परेको वातावरण शाखाका प्रमुख पुष्प नारायण चौधरी बताउँछन् । ७२ वटा डस्टबिन त्यस बेला २३ हजार रुपैयाँका दरले किनेको उनको भनाइ छ ।

सोही हिसाबबाट १६ लाख ५६ हजार रुपैयाँको लगानी डुबेको हो । त्यस अगाडी फलामको ह्याङ्गर भित्र प्लास्टिकको डस्टबिन राखे पनि हाल त्यसको निशाना भेटिँदैन । उता बिर्को सहितका साना डस्टबिनको भने बिर्को मात्र सडकमा देखिने गरेका छन् ।

शाखा प्रमुख चौधरी पालिकाले टोल विकाससँग मिलेर भित्री बजार क्षेत्रमा डस्टबिन राखिरहेको छ । हाल फोहोरमैला व्यवस्थापनमा निजी कम्पनीले नै प्रभावकारी काम गरिरहेको उनले बताए ।

ठुला र साना प्लास्टिकका डस्टबिन प्रयोगमा नआएपछि बिजुलीको पोलमा डोको राख्ने अभियान सुरु भयो । पर्यावरणमैत्री फोहोर सङ्कलन गर्ने उद्देश्यले २०७८ सालमा राखिएका डोकाहरू फोहोर भरिन नपाउँदै भत्किए । फोहोरमैला व्यवस्थापनमा अनेकन् प्रयास गरेको उपमहानगरपालिकाको मुख्य बजारमा अहिले भने डस्टबिन राखेको छैन । डस्टबिनमा मात्रै लाखौँ खर्च गरिसकेको उपमहानगरपालिका अन्ततः मुख्य बजार क्षेत्रमा डस्टबिन नराख्ने अवस्थामा पुगेको हो ।

dustbin-2-itahari