इटहरी : इटहरी–१३ खनारकी सरस्वती सरदार मुटुको बिरामी छिन् । उपचारको लागि जग्गा धितोमा राखेर पैसा लिएकी उनी पूर्ण रूपमा निको भएकी छैनन् । रोगबाट मुक्त हुन नपाउँदै उनी ठगीको सिकार भएकी हुन् । 
१३ वर्ष मुद्दा लडेर मोहीको जग्गा पाएकी सरस्वती मदन सरदारको ठगीको फन्दामा मुछिएकी छिन् । उपचारको लागि सरल प्रक्रियाबाट ऋण लिन उनले ५ लाख ४० हजारमा धितो पास गरिन् । महुली कुमारी चौधरीको नाममा धितो पास गरेको जग्गा अहिले तेह्रथुमको एक श्रेष्ठ परिवारले बैङ्कमा राखेर ऋण लिएको छ । 
२ लाख रुपैयाँ धितो पास गरेको जग्गा पनि उनले फिर्ता पाइनन् । जग्गा फिर्ता माग्दा सम्बन्धित व्यक्तिले पैसा नपाएको भन्दै जग्गा दिन आनाकानी गरेको सरस्वती बताउँछिन् । मदन सरदार मार्फत धितो पास भएपछि उनै मदनलाई सरस्वतीले पैसा बुझाएकी थिइन् । तर मदनले सो व्यक्तिलाई पैसा नदिएपछि समस्या बढेको हो । हाल सो जग्गा भने सरस्वतीले अदालत मार्फत रोक्का गरेकी छिन् । 
मदनले २ लाख लिएको स्वीकार गरेपनि जग्गा दिलाउन कोसिस गर्ने बताएका छन् । उनले कुनैपनि कागजमा हस्ताक्षर नगरेको र उनको भूमिका प्रमाणको रूपमा देखिँदैन । 
कलेजोको अपरेसन गर्नुपर्ने अवस्थामा पुगेकी मिना सरदारले १४ धुर जग्गा एक लाखमा धितो पास गरिन् । एक लाख रुपैयाँ यसअघि मदन सरदार मार्फत तिरे पनि उनले जग्गा फिर्ता पाएकी छैनन् । श्रीमानलाई विदेश पठाउन सजिलो उपाय अपनाएर धितो पास गरेनी उनको जग्गा नै गुमेको छ । २०८० भाद्र ८ गते भित्रमा जग्गा फिर्ता गराउन बाचा गर्दै मदनले कागज गरेका छन् तर जग्गा फिर्ता भएको छैन ।
२०७५ सालदेखि निरन्तर न्याय मागिरहेकी उनी बलियो प्रमाण नभएको कारण जग्गा फिर्ता पाउन सकेकी छैनन् । मदन सरदारले पैसा लिएको बताए पनि जग्गा लिने वराहक्षेत्रका दीपेन्द्र बस्नेत र पवन न्यौपानेले पैसा नपाएको गुनासो गरिरहेका छन् । मदनले मिना र सरस्वतीको मात्र हैन अर्कैको जग्गा देखाएर रञ्जित सरदारको परिवारबाट ६ लाख लिएका थिए । अन्य व्यक्तिले प्लटिङ गरेको जग्गा सस्तोमा दिलाइदिने भन्दै पैसा लिएका उनले अहिलेसम्म फिर्ता गरेका छैनन् । 
प्रमाण नपुग्ने गरी मदनको ठगी धन्दा स्थानीय न्यायिक समिति देखी प्रहरी प्रशासन समेत मूकदर्शक बनेको छ । सोही विषयमा इटहरी उपमहानगरपालिका न्यायिक समितिले २०८० साउन २६ गतेको बैठकमा असोज २६ गतेसम्म जग्गा फिर्ता गराउन मदन तयार भए । तर पुनः असोज २६ को बैठकमा ठोस  निर्णय नभएपछि समितिले अदालत जान सिफारिस गर्यो ।
यी प्रतिनिधि घटना बाहेक मदन सरदारले प्रमाण नपुग्नेगरि गरेका लेनदेनका अनेकौँ ठगीका घटना भएको १३ नम्बर वडा अध्यक्ष चन्देश्वर सरदार बताउँछन् । प्रमाण नभएपछि छलफल गराउने र समन्वय गर्ने काम मात्र भएको बताउँदै उनले ठगीको नयाँ तरिका बाहिर आएको बताए । पीडितलाई न्याय दिन सक्दो प्रयास गर्ने उनले बाचा गरेका छन् ।
Madan-saradarmadan-saradar-likhat