वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक असक्तता र अपाङ्गता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ ।

सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक असक्तता र अपाङ्गता भएका नागरिकसँगै नगरवासीहरूलाई राष्ट्रिय परिचय पत्र विवरण अनलाइन भर्ने र नम्बर वितरण गर्ने शिविर सञ्चालन गरेको हो ।

नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरेर गएको असार १६ गतेदेखि शिविर सञ्चालन ल्याएको थियो ।

सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न नीति लिएको र नगरपालिकाले नगरवासीलाई सहज तथा सरल रूपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने र नम्बर प्रदान गर्ने योजना बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।

असार १६ गतेदेखि सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण शिविरमा हालसम्म २ हजार ९ सय ९० जनाले सेवा लिइसकेका छन् । जम्मा महिला १ हजार ६ सय ४६ जना र पुरुष १ हजार ३ सय ४४ जनाले परिचय पत्र नम्बर प्राप्त गरेका छन् ।

शिविर भाद्र मसान्तसम्म सञ्चालन हुने भएकाले सेवा लिन नगरवासीहरूलाई प्रमुख प्रशासकीय अधिकृत कटुवालले आग्रह समेत गरेका छन् ।

राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाममा जानू पर्ने बाध्यताबाट मुक्त भएर आफ्नै पालिकाबाट परिचय पत्र बनाउँदा खुसी लागेको वडा नं.८ मैनवारीका मानबहादुर थापा बताउँछन् । पालिकाबाटै सरल, सजहरूपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्ने र नम्बर लिन पाउँदा  खुसी लागेको उनको भनाई छ । 'सदरमुकाम इनरुवा जाँदा धेरै पैसा खर्च हुन्थ्यो, हामी बुढापाकालाई पनि समस्या हुन्थ्यो-थापाले भने अहिले नगरपालिकामै सेवा पाउँदा खुसी लागेको छ ।

ज्येष्ठ नागरिक, असक्त र अपाङ्गता भएका नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले पालिकाबाटै राष्ट्रिय परिचय पत्र विवरण अनलाइन भर्ने र नम्बर वितरण गर्न थालेको नगर प्रमुख रमेश कार्कीले बताए ।

राष्ट्रिय परिचय पत्र विवरण अनलाइन भर्ने र नम्बर वितरण हाल पनि सञ्चालन भई राखेको हुँदा सेवा लिन आउन उनले नगरवासीलाई आव्हान समेत गरेका छन् ।