धरान : कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले प्रदेशमा महिला उद्यम प्रोत्साहित गर्न प्रदेश सरकारले कोशेली घर निर्माणको योजना अघि बढाएको बताएकी छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३ दिने महिला उद्यम प्रदर्शनीको बिहीबार उद्घाटन तथा ६१औँ वार्षिकोत्सव समारोहमा उनले महिलाहरूलाई सक्षम, सबल र आर्थिक रूपमा आत्मनिर्भर बनाउन कोशेली घरले ठुलो भूमिका खेल्ने बताएकी हुन् ।

ठाउँ ठाउँमा कोशेली घर निर्माणले महिलाहरूको घरेलु उत्पादनले एकीकृत बजार पाउने बताउँदै उनले त्यसबाट महिलाहरूमा उद्यमप्रति आत्मविश्वास बढेर उनीहरूको आर्थिक सशक्तीकरण हुने उनको भनाई छ ।

राज्यमन्त्री राईले धरानमा कोशेली घर निर्माणको लागि उद्योग वाणिज्य सङ्घलाई पहल गर्न ध्यानाकर्षण गराउँदै भनिन् ‘कोशेली घर निर्माणको लागि प्रदेश सरकारले जग्गाको खोजी कार्य तीव्र बनाएको छ ।’

उनले स्थानीय उत्पादनलाई व्यवस्थापन गर्न नसकेका कारण कृषकहरूको परिश्रम र मेहनत खेर गइरहेको बताउँदै कृषकहरू हतोत्साहित भएकोले गर्दा युवा पुस्ता बाहिरिने क्रम बढेको बताइन ।

प्रदेशमा उद्योग धन्धामा लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न प्रदेश सरकार लगानी सम्मेलन गर्ने तयारीमा जुटेको राज्यमन्त्री राईले बताइन । उनले प्रदेश सरकारको लगानी प्राधिकरणको पहलमा भेडेटारमा निर्माण भएको पर्यटनमा लगानीको नमुना स्काई वाकको उदाहरण दिइन् ।

udhyog-melaनिर्णय भएका आयोजना पनि सुरु भएनन् :

कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले मन्त्रिपरिषदमा निर्णय भएको आयोजना पनि धरानमा सुरु हुन नसकेको बताए । उनले भने, ‘औद्योगिक ग्रामको काम सुरु किन भएन भनेर बुझ्दा तपाईँले होइन, सम्झौता स्थानिय सरकारले प्रतिवेदन नपठाएको, चासो नराखेको जवाफ आएको छ ।’

उनले सामाजिक सञ्जालमा धरान नगर प्रमुखले नगरबाट स्वीकृति लिएर सङ्घीय, प्रदेश सरकारको योजनाका काम गर्नु होला नभए रोकिने छ भनी लेखेको कुरा मन्त्रालयका अधिकृतहरूले आफूलाई स्मरण गराएको बताए ।

सांसद बस्नेतका अनुसार धरान उपमहानगरपालिकाले औद्योगिक ग्राम लगायतका योजनाको प्रतिवेदन नपठाएको र पहल पनि नगरेकोले ती योजना कार्यान्वयन नभएको हो ।

उनले प्रदेश सरकारबाट ७ करोड रुपैयाँ लागतमा ३ वटा बोरिङ खन्ने काम अन्तिम चरण पुगेको बताउँदै भने ‘सुख्खा याममा धरानमा दैनिक ६० लाख लिटर पानी अब थपिन्छ ।’

नगर प्रमुख जवाफदेही भएनन् :

धरान निवर्तमान नगर प्रमुख तिलक राईले नगर प्रमुख हर्क साम्पाङको काम नै धरानमा सुरु भएको योजनाहरूलाई निरन्तरता दिने भन्दा त्यसलाई गलत रूपमा अर्थ्याएर पूर्व जनप्रतिनिधिलाई दोष दिने काम मात्र गरिरहेको बताए ।

उनले भने ‘स्थानिय सरकार जवाफदेही भएन ।’ धरानको विकास र उन्नतिका लागि भएका कामको शुरुआतलाई निरन्तरता नदिने, नयाँ विकासका योजना नल्याउने र ल्याउन पनि नदिने घोषित रूपमा नै नगर प्रमुखले गर्दै आएको उनको भनाई थियो । उद्यम प्रदर्शनीले महिलालाई उद्यमशील बन्नमा आत्मविश्वास बढ्ने बताए ।

धरान विभाजित भएको छ : 

जनता समाजवादीका धरान अध्यक्ष ताजुब लिम्बूले धरान विभाजित भएको बताए । उनले कार्यक्रममा स्थानीय सरकारका प्रमुख उपस्थित नभएको बताउँदै भने ‘नगर प्रमुख साम्पाङले छुट्टै संसार बनाउन खोजेर त्यही दुनियाँमा रमाई रहेका छन् ।’

त्यो दुनियाँमा धरानका परम्परागत शक्ति र र राजनीतिक दल उनको लागि स्वीकार्य छैन भन्ने प्रमुख साम्पाङ स्ट्याटसहरूले स्पष्ट गर्ने आएको बताउँदै लिम्बुले भने ‘फेसबुक र युट्युबमा धरान स्वर्गको टुक्रा छ तर व्यवहारमा छैन ।’ त्यसै कारण राजनीतिक दल धरानको विकासका लागि एक ठाउँमा उभिएको उनले बताए ।

गीत गाएर धरानको विकास हुँदैन :

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले युट्युबमा गीत गाएर धरानको विकास नहुने बताए । उनले भने, ‘सामाजिक सञ्जालका भित्ता रङ्गाएर विकास असम्भव छ ।’ उद्योगी व्यवसायीलाई सुरक्षा दिन प्रशासन सधैँ तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको समारोहमा सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठ र राजेन्द्र साहलाई सम्मानित गरिएको छ । 

sunsari-udhyogस्थानिय सरकार उद्योग व्यवसायप्रति उदासीन :

सम्मानित पूर्व अध्यक्ष सरोज श्रेष्ठले उद्योगी व्यवसाय प्रति स्थानीय सरकार उदासीन बनेको बताए । नगर प्रमुख हर्क साम्पाङ धरानका विकासका लागि आफू बाहेक कोही केही नचाहिने कार्यशैलीमा हिँडेकाले धरान पछि परिरहेको उनको भनाई थियो ।

उनले उपमहानगरपालिकाले र धरान खानेपानी व्यवस्थापन बोर्ड एउटै व्यक्तिले चलाइरहेको बताए । धरानको विकासका लागि धरान-लेउती सुरुङ मार्ग बाहेक अन्य विकल्प नभएको बताउँदै उनले सुरुङमार्गले धरानलाई बाइपास हुनबाट जोगाउँछ भने खानेपानी सहज रूपमा पर्याप्त उपलब्ध हुने विकल्प दिने कुरा सबैले स्वीकार गर्नु पर्ने बताए ।

उपप्रमुख बेघाको भनाई :

धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्र विक्रम बेघाले उपमहानगरपालिका एक व्यक्तिको मात्र नभएको बताउँदै व्यक्तिको कमी, कमजोरीको दोष संस्थालाई नलगाई सबै मिलेर सही दिशा दिने काम गर्न जरुरी भएको बताए ।

उनले भने ‘यहाँ उठेका नेतृत्वप्रतिको गुनासोको जवाफ मैले दिइरहनु जरुरी छैन ।’ तर उपमहानगरपालिकामा जनताको प्रतिनिधित्व गर्नेहरूलाई उपेक्षा गर्न नहुने उनले बताए ।