धरान : किरात याक्थुङ चुम्लुङको ३६औँ स्थापना दिवसको पूर्वसन्ध्या आइतबार आयोजित रक्तदान कार्यक्रममा कुल ५८ पिन्ट रगत सङ्कलन भएको छ ।

धरान-१५ चुम्लुङ हिममा भएको रक्तदान कार्यक्रम सुनसरी जिल्ला कार्यसमितिद्वारा रेडक्रस सोसाइटी सुनसरी, रक्त सञ्चार सेवाको सहकार्यमा आयोजना गरेको हो । रक्तदानमा महिलाहरूको पनि सहभागिता थियो ।

किरात याक्थुङ चुम्लुङ सङ्घीय कार्यसमितिले काठमाण्डौमा र जिल्ला कार्यसमितिले लिम्बुवानका ९ जिल्ला सहित चितवनमा पनि ३ दिने विविध कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउँदैछ ।

चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य सङ्गीता सुब्बा, केन्द्रीय सल्लाहकार दुर्गामाया लिम्बु, चन्द्रमाया लिम्बु, नरप्रसाद लिम्बुले रक्तदाताहरूलाई धन्यवाद पत्र प्रदान गरेका थिए ।

यसअघि बिहान धरान उपमहानगर समितिद्वारा धरान-१९ को चौकमा सिलाम साक्माको प्रतिमा स्थापना गर्न शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय बालक चौक पश्चिमतर्फ मोडमा प्रतिमा स्थापना गरिने भएको हो ।

नगर समितिको आयोजनामा भोली सोमवार दिउँसो चुम्लुङ हिममा स्थापना दिवस समारोह एवम् साँझमा चम्लुङ भवनमा दीप प्रज्वलनको कार्यक्रम भएको नगर अध्यक्ष तीर्थराज लिम्बुले बताएका छन् ।

Chumlung-blood-donation-2