धरान : कोशी प्रदेश नामाङ्कन खारेजी आन्दोलनको प्रमुख घटक संस्था किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिको अध्यक्षमा तीर्थ मादेम्बा निर्विरोध निर्वाचित भएका छन् ।

चुम्लुङको नवौँ नगर अधिवेशनले उनलाई निर्विरोध निर्वाचित गरेको हो । शनिवार अवेर रात सम्म चलेको नयाँ कार्यसमिति चयन प्रक्रियामा अध्यक्षका अर्का प्रत्याशी रिता खापुङले उम्मेदवारी फिर्ता लिएपछि मादेम्बा निर्वाचित भएका हुन ।

उनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा ११ पुरुष १० महिला छन् ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ललिता नेम्वाङ, सचिवमा बालकृष्ण सिंगक, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवजुङ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुमित्रा लिम्बु, होमन्त लिम्बु, आहा मचा लिम्बु, भरत लिम्बु, अम्बरबहादुर लाबुङ, पवित्र हुम्पाचोङबाङ, प्रमीला येङदेन, पञ्चमाया योङहाङ, गौरीकला सुम्बा, भुवन हाङगाम, विन्दु तुम्बाहाङफे, रामकुमारी हुक्पाचोङबाङ, राजेन्द्र लाबुङ, प्रेम मादेन, राजकुमार फागो चोङबाङ, मनकुमार लाबुङ छन् ।

यसअघि धरान-१५ स्थित चुम्लुङमा आयोजित समारोह बिच चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले अधिवेशनको उद्घाटन गरेका थिए । उनले कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलन अहिले पहिचानको मुख्य सङ्घर्ष भएको बताउँदै लिम्बुवान, किरात चुम्लुङको बटम लाइन भएको उल्लेख गरे ।

नयाँ मुख्यमन्त्री उद्धव थापाले आन्दोलनकारीलाई पुनः वार्ताको लागि आव्हान गरेको जानकारी दिदैं उनले भने ‘कोशी नाम कुनै पनि हालतमा टिक्नेवाला छैन, यसलाई खारेज गरेर मात्र आन्दोलनले विश्राम लिन्छ ।’ उनले सम्पूर्ण आदिवासी समुदायलाई पहिचानका लागि आन्दोलनमा होमिन आव्हान गरे ।

चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पा चोङबाङले कोशी नाम खारेजीको आन्दोलनमा धरानबाट युवाहरूको नेतृत्व गरेका सहिद लाजेहाङको शहादतको उल्लेख गर्दै चुम्लुङको नगर अधिवेशनले सशक्त नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

आदिवासी जनजाति महासङ्घका मनोहर शाक्यले आदिवासीको भाषा, संस्कृतिको पहिचान र अधिकारका लागि जातीय संस्थाहरू सशक्त ढङ्गमा अघि बढ्नु पर्ने बताए । मेयाङबो कल्याणकारी सभाका अध्यक्ष  नवीन मेयाङबोले चुम्लुङले लिम्बु जातिको थरगत संस्थाहरूको प्रतिनिधित्व हुनुपर्ने बताए ।

समारोहमा चुम्लुङ केन्द्रीय सल्लाहकार दुर्गामाया लिम्बु, नगर उपाध्यक्ष रिता खापुङले पनि आफ्नो धारणा राखे । नगर अध्यक्ष पद्मा लिम्बुको सभापतित्वमा भएको उद्घाटन सत्र सचिव जय सम्बाहाम्फेले सञ्चालन गरेका थिए ।