धरान : धरानका सामुदायिक विद्यालयका छात्राहरूका लागि धरान उपमहानगरपालिकाले टेण्डरबाट खरिद गरेको सेनिटरी प्याड गुणस्तरहीन भएको प्रयोगकर्ता विद्यार्थी र शिक्षिकाहरूले बताएका छन् ।
महिनावारी हुँदा प्रयोग गरिने प्याड सरकारले तोकेका मापदण्ड अनुसारको छैन । एन्जल टच हाईजिन मेनुफेक्चर प्रालीले उत्पादन गरेको 'पियोर सेनिटरी प्याड' उपमहानगरपालिकाले टेण्डरमा खरिद गरेको हो । २०८१ जेठ २१ गते कम्पनीसँग उपमहानगरपालिकाले २४ लाख ५ हजार ८२० रुपैयाँ ५० पैसामा प्याड खरिद गर्ने सम्झौता गरेको हो ।
सानो, छिटो लिकेज, पातलो र गाँठो पर्ने : 
धरान-५ स्थित हिमाली मावि कक्षा ९ की छात्रा खुसी पाँचकोटीले प्याडको साइज सानो भएको बताइन् । चाडै लिकेज हुन्छ, पातलो छ, प्याड लगाएको आधा घण्टा पनि नभई गाँठो पर्ने उनको भनाई छ । उनले भनिन् ‘खोइ कस्तो प्याड हो ! नराम्रो भएकाले अचेल साथीहरू प्याड लिन जान नि मान्दैनन् बरु किनेर चलाउँछन् !’ प्याड कमसल र कामै नलाग्ने रहेको उनले बताइन् ।
कक्षा १० की करु गहतराजले भनिन् 'पहिला प्याड ठुलो साइजमा थियो, अहिले सानो छ, त्यो भन्दा पहिलाको प्याड पनि काम नै नलाग्ने थियो बिचमा बाँडेको प्याड चैँ राम्रै थियो ।’ अहिलेको प्याड खतम छ 'फ्री'मा बाँडेकोले होला कमसल भएको उनको भनाई छ ।
कक्षा-८ की सकिता विकले भनिन् ‘किनेको प्याड चैँ राम्रो हुने सरकारले बाढेको चैँ नराम्रो हुने रहेछ ।’
धरान-१२ स्थित पब्लिक स्कुलकी शिक्षिका सोनु पहाडीले भनिन् ‘प्याड त्यस्तो राम्रो चैँ होइन, यो प्याडमा धेरै समस्या छ ! चाडै लिकेज हुन्छ ! डल्लो पर्छ, सरकारले दिँदा पनि राम्रै दिनु नि! बरु थोरै दिनु ।’ उनी स्कुलको प्याड लगाउन रुचि गर्दिनन् । बाध्यता परेमा मात्र स्कुलको प्याड लगाउँछिन् ।
पब्लिक स्कुल मै अध्ययनरत कक्षा ११ की छात्रा सविना राईले भनिन् ‘प्याडको क्वालिटी राम्रो छैन, एकैछिनमा लिकेज हुने प्याड के लगाउनु भनेर म तँ स्कुलको प्याड नै प्रयोग गर्दिन ।’ स्कुलमै पिरियड भयो भने बरु खाजा खान ल्याएको पैसाले किन्ने गरेको उनी बताउँछिन् ।
भण्डार गर्न गाह्रो छ : प्रधानाध्यापक
पब्लिक स्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले भने ‘विद्यार्थीहरू लजाएर होला कम्प्लेन चैँ गरेका छैनन् ।’ छात्रा सङ्ख्या थुप्रै छन् तर स्कुलको प्याड खासै चलाउँदैनन् । लामो समय स्कुल बिदा हुने भएमा घरमा समेत लैजान वितरण गरिन्छ, तर खासै नरुचाउने उनले बताए ।
पहिले प्याड व्यवस्थित रूपमा उपमहानगरपालिकाले दिने गरेको थियो । अहिले बोरा बोरामा वर्ष दिनमा एकै चोटि ल्याउने प्रधानाध्यापक झाले बताए । उनले भने ‘स्टोरमा राख्नु पर्छ भण्डार गर्न नै गाह्रो हुने अवस्था छ ।’
यो उत्पादन धरान बजारमा छैन : 
धरान बजारमा पियोर सेनिटरी प्याड नरहेको मेडिकल व्यवसायीहरू बताउँछन् । धरान-१८ मा मेडिकल व्यवसायी दीपक तामाङले भने ‘राम्रो सामान भएको भए बजारमा आउनु पर्ने हो ।’ अहिले सम्म मार्केटिङमै आएको उनले बताए ।
धरान-१२ चतरा लाइनका एक मेडिकल व्यवसायीहरूले यो नामको प्याड बजारमा नआएको बताए । बजारमा नभएको प्याड कसरी सरकारी स्कुलमा पुग्छ ? सबै कमिसनको चक्करमा काम भएको हुन सक्ने उनी बताउँछन् ।
मेडिकल व्यवसायी बलराम लोहनीले भने ‘गुणस्तर विभागले पनि पैसा पाएपछि गुणस्तर प्राप्त चिन्ह दिई हाल्छन् ।’ प्याड गुणस्तरीय नभएको कारण धरानमा नआएको हुनसक्ने उनको भनाई छ । उनले भने ‘उपमहानगरपालिकामा सेटिङबाटै आएको होला, हामीले टेण्डर भर्दा कहिले पर्दैन तँ ?’
नगर प्रमुख हर्क साम्पाङले कर्मचारीले कमिसन र भ्रष्ट्राचार गरे तुरुन्त कारबाही गर्ने भनेर सामाजिक सञ्जालमा पटक-पटक भन्दै आए पनि उनकै कर्मचारीहरूले नीतिगत कमिसनमा काम गरेको थाहा नपाउनु पनि आश्चर्य नै मान्नु परेको उनको भनाई छ ।
सात वटा कम्पनीमा प्रतिस्पर्धा :
धरानका सामुदायिक विद्यालयहरूलाई वितरण गर्न एन्जल टच हाईजिन मेनुफेक्चर कम्पनीसँग उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भूपेन्द्र राईले सम्झौता गरेका हुन । उनले भने ‘म उपमहानगरपालिका आएको पहिलो साता नै प्रालीसँग सम्झौता भएकाले कम्पनीका बारेमा त्यति धेरै जानकार हुन पाइएन ।’
टेण्डर आव्हान गर्दा एन्जल टच हाईजिन मेनुफ्राक्चर प्राली, लाइफ केयर सेनिटरी एण्ड नेपकिन उद्योग चितवन, हेल्थ एण्ड हाईजिन प्रोडक्ट प्रालि विराटनगर, अप्सम ट्रेड लिङ्क विराटनगर, नित्य श्री सप्लायर्स विराटनगर, एजि हेल्थ ईण्डष्ट्रीज प्रालि काठमाडौँ, एन ग्रुप अफ कम्पनी प्रालि काठमाडौँ सहभागी भएका थिए ।
उक्त ७ वटा कम्पनीले टेण्डर हाले पनि सबैभन्दा कम एन्जल टच हाईजिन मेनुफ्रेक्चर प्रालीको टेण्डर लगाएको आधारमा नियम प्रक्रिया अनुसार नै छनौट गरिएको उनको भनाई छ।
टेण्डर प्रक्रियामा सहभागी एक कम्पनीले (नाम नखुलाउने सर्तमा) उपमहानगरपालिकाकै योजनामा एन्जल टच हाईजिन मेनुफ्राक्चर प्रालीलाई कम रेटमा टेण्डर लगाउन लगाएको बताए । उनले भने ‘कम्पनीलाई कम रेटमा टेण्डर लगाउन लगाएर औपचारिकता पुरा गरेको र कमिसनको लोभमा गुणस्तरहीन प्याड खरिद गरेको हो ।’
स्वास्थ्य महाशाखाको कुनै सहभागिता छैन  
उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले सेनिटरी प्याड खरिदमा स्वास्थ्य शाखाको कुनै सहभागिता नरहेको बताए । अघिल्लो वर्षसम्म स्वास्थ्य शाखासँग सुझाव सङ्कलन गर्न ल्याब टेष्ट रिजल्ट अनुगमनमा सहभागिता हुन्थ्यो ।
उनले भने ‘यो वर्ष सहभागिता भएन, स्याम्पलको ल्याब टेष्ट काठमाडौँबाटै भएर आएको हुन्छ ।’ उपमहानगरपालिकालाई गुणस्तर मापन गर्ने अनुमति नभएकाले गुणस्तर मापनमा सम्बन्धी कुनै जानकार हामी हुँदैनौ । अघिल्लो वर्ष प्याड डिलक्ससँग सम्झौता भएको थियो ।
छात्राको यकिन सङ्ख्या नै छैन :
उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले मन्त्रीपरिषद्को कार्यविधिलाई अवलम्बन गरी शिक्षा शाखाले धरानमा रहेका २३ सामुदायिक विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको बताए ।
कक्षा ६ देखि १२ सम्मका सामुदायिक स्कुलका छात्राहरूलाई महिनामा ५ दिन सम्म पुग्ने गरी विद्यालयलाई वितरण गर्ने गरिएको छ । अघिल्लो वर्ष ३ हजार ६ सय छात्रा रहेका थिए, सोही आधारमा यसवर्ष पनि खरिद गर्न खरिद शाखालाई दिइएको उनको भनाई छ ।
खतिवडाले भने ‘गुणस्तरको विषय र खरिदको प्रक्रियाको विषयमा मलाई जानकारी छैन ।’ उनका अनुसार तथ्याङ्क अद्यावधिक गरेपछि मन्त्रालयबाट शिक्षा शाखालाई बजेट आउने गरेको छ । हाल २३ स्कुलमा कति छात्रा छन् भन्ने यकिन तथ्याङ्क भने आफूलाई थाहा नभएको बताए ।