धरान: रजस्वला हुँदा छात्राहरु प्रायः नियमित विद्यालय जादैनन् । विद्यालयमा रजस्वला हुँदा सहजरुपमा स्यानेटरी प्याड उपलब्ध नहुने भएकोले बीचैमा पढाई छाड्नुपर्ने बाध्यता छ । छात्राहरुका अनुसार कम्तीमा ४–५ दिन नियमित कक्षा छोडेर घरैमा बस्नुपर्ने हुन्छ । धरान–१२ स्थित पब्लिक माविका छात्राहरुले पनि यो समस्या झेल्दै आएका थिए । तर, अब उनीहरु यो समस्याबाट मुक्त भएका छन् ।

विद्यालयमा मेसिनको सहायताले प्याड वितरण गरिन्छ । अत्याधुनिक सेन्सर सिस्टमबाट छात्राहरुको लागि प्याड वितरण शुरु गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झाले बताए । भारतको मुम्बइबाट ३० हजार रुपैयाँको लागतमा खरीद गरेर ल्याइएको ‘अटोमेटिक स्यानेटरी न्यापकिन भेन्टिङ मेसिन’को सहयाताले प्याड वितरण शुरु गरिएको हो । ‘सेन्सर सिस्टमको मेसिनमा २ वटा बटम उपलब्ध छन्, जुन थिचे पनि हुन्छ । बटम दबाए पछि ५ रुपैयाँ ढक्का पैसा (कोइन) छिराउनुपर्छ, आफै प्याड खस्छ,’प्रअ झाले भने,‘५ रुपैयाँमा एउटा प्याड उपलब्ध हुन्छ ।’

pad

मेसिनमा २ वटा हार छ । माथिल्लो हारमा २५ र तल्लो हारमा २५ गरी ५० वटा प्याड (पिस) लोड गरिएको हुन्छ । विद्यालयका कक्षा ११ का स्वास्थ्य शिक्षा विषय अध्ययरत विद्यार्थीहरुले प्रयोगात्मक परीक्षामा विद्यालयमा मेसिन जडान गरिदिएका हुन् । हुन त विद्यालयमा केही महिना अघि प्याड वितरण गरिए पनि त्यति प्रभावकारी बन्न सकेको थिएन । छात्राहरु प्याड माग्न हिच्किच्याउने, लजाउने समस्या थियो भने प्याड वितरण गर्नको लागि एक जना अनिवार्य बस्नुपर्ने बाध्यता पनि थियो । अब अत्याधुनिक मेसिन राखेपछि त्यो समस्या हटेको प्रअ झाले बताए ।

विद्यालयमा छात्राहरुमा रजस्वलाका कारण विद्यालय छाड्दा उनीहरुको पढाइ छुट्ने विग्रीन गरेकाले विद्यालयले प्याड खरिद गरेर उपलब्ध गराउदै आएको थियो । हाल धरान उपमहानगरपालिकाका सामाजिक महाशाखाले निःशुल्क प्याड उपलब्ध थालेपछि विद्यालयलाई ठुलो सहयोग पुगेको प्रअ झाले बताए । ‘लेडिज प्रोब्लम भनेर छात्राहरु विदामा बस्थे, त्यसपछि विद्यालय आफैले खरीद गरेर वितरण गर्न शुरु गर्यौ,’प्रअ झाले भने,‘पछि धरान उपमहानगरको सामाजिक महाशाखाले निःशुल्क उपलब्ध गराउदै आएको छ ।’ उक्त मेसिनको मंगलबार एक कार्यक्रमकाबीच धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले उद्घाटन गरिन् । विद्यालयमा ८ कक्षादेखि माथि १ सय ५० जना छात्राहरु अध्ययरनत छन् ।

pads