धरान : पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राईलाई फेसबुकमा लेखेको स्ट्याटसको कुरालाई लिएर फोनमा धम्क्याएका कुलदिप राईले माफी मागेका छन् । उनी नगर प्रमुख हर्क साम्पाङका समर्थक हुन ।

इलाका प्रहरी कार्यालय धरानमा आइतबार भएको छलफलमा माफी मागेपछि अध्यक्ष राईले माफी दिएका हुन । सभापति राईका अनुसार आइतबार बिहानै अपरिचित नम्बरबाट फोनमा गरी कुलदिपले केटाहरू लिएर ‘घरैमा आउँछु’ भन्दै अपशब्दमा धम्की दिएका थिए ।

अपरिचित व्यक्तिले फोनमा धम्की दिएपछि सभापति राईले इलाका प्रहरी कार्यालय धरान डिएसपी प्रकाश जवेगुलाई जानकारी गराए । डिएसपी जवेगुले कुलदिपलाई उपस्थित गराई छलफल गराउँदा कुलदिप राईले माफी मागेका हुन ।

कुलदिपले ‘मैले फोनमा बोलेको कुरा धम्की, अपमान भएको हो भने माफी माग्छु’ भने पछि इलाका प्रहरीमा लिखित सहमति पत्रमा दुवै जनाले हस्ताक्षर गरेका छन् ।

पत्रकारलाई फोनमा धम्क्याएको घट्नालाई लिएर कानुनी कारबाहीका लागि पत्रकारहरू इलाका कार्यालय पुगेका थिए । वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, पत्रकार महासङ्घ सुनसरीका सल्लाहकार सन्तोष काफ्ले, सहसचिव तीर्थ कार्की, भोला श्रेष्ठको उपस्थितिमा घटना बारे छलफल भएको हो ।

अध्यक्ष राईले फेसबुकमा यस्तो स्ट्याटस लेखेका छन्  :

र, मैले भने- ‘त्यसो गर्नु हुँदैन ।’ सुम्निमा पारूहाङ प्रतिष्ठान नेपालका अध्यक्ष हर्कराज राईले ‘सुम्निमा पारूहाङ साँझ-२०८१’ गर्ने भनेर पैसा उठाइ कार्यक्रम नगरेको र हिसाब पनि सार्वजनिक नगरी विदेश भाग्न लागेको भनेर विदेश जानबाट रोकी कारबाही गरिपाउँ’ भन्ने आशयको उजुरी तयारी गर्दै रहेछन् । कोन्त, अब के हुन्छ ।’

उक्त स्ट्याटसलाई ‘सभापति राईले हर्कराज राईले हिसाब सार्वजनिक गरेन भनेको’ अर्थमा नगर प्रमुख साम्पाङका समर्थकहरूले बुझेका छन् । तर, उक्त स्ट्याटसले सभापति जनकऋषि राईले नभई कसैले साम्पाङ विरुद्ध उजुरी तयार गर्दैछ भनी बताएको बुझाउँछ ।

नगर प्रमुख साम्पाङ आफैले पनि गलत बुझेर उक्त स्ट्याटस पढे लगत्तै फेसबुकमा सभापति राईलाई 'ग्रिन टी'मा उपस्थित हुन उर्दी जारी गरेका थिए । सोही कारण आवेशमा आएर कुलदिप राईले सभापति जनकऋषिलाई फोनमा धम्क्याएको हुनसक्छ । डिएसपी प्रकाश जवेगुले पुनः यस्तो असमझदारी नदोहोर्‍याउन सुझाव दिएका छन् ।