धरान : मेयर हर्क साम्पाङको पक्षमा सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गर्ने समर्थक रमेश बान्तवा राई पक्राउ परेका छन् ।

धरान-५ देउराली स्थित उनको घरबाट आइतबार साँझ साढे ७ बजे राईलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रण लिएको जानकारी दिएका हुन् ।

केही समय अघि छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।

जग्गा पीडित राईले गत साउन १५ गते साइबर क्राईम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा जिल्ला कार्यालय साइबर ब्युरोको टोलीले साइवर अपराधमा राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।