धरान : लागुऔषध ओसार पसार गर्नेहरू नक्कली नोटको धन्धामा पनि लागेको छन् भन्ने मङ्गलवार हरिनगरबाट लागुऔषध सहित प्रहरीले नक्कली नेपाली नोट बरामद गरेको घट्नाले पुष्टि गरेको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार सुनसरी हरिनगर गाउँपालिका-७ का ३१ वर्षीय हजरुल खातुनको घरमा छापा मारेर खानतलासी गर्दा नक्कली नेपाली नोट र लागुऔषध बरामद भएको हो ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्ज, घुस्कीहाट प्रहरी चौकीको टोलीले दिउँसो डेढ बजेको समयमा हजरुलको घरमा खानतलासी गरेको थियो ।

खानतलासी गर्दा घरको उत्तरतर्फ सुत्ने कोठा भित्र खाट माथि रहेको डसना मुनि १००० हजार रुपैयाँ दरको नेपाली नक्कली नोट ५० थान, लागूऔषध नाइट्रोजन ट्याब्लेट १० पत्तामा १०० ट्याब्लेट र रेडमी अन्ड्रोएड मोबाइल १ थान बरामद गरेको छ ।

नक्कली नेपाली नोट, लागुऔषध सहित प्रहरीले हजरुल खातुनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाइएको छ ।