धरान : प्रदेश नम्बर १ पूनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति मङ्सिर २ गते देखी कोशी नाम खारेजीको नयाँ चरणको आन्दोलन गर्ने तयारीमा लागेको छ ।

आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको कात्तिक १४ गते विराटनगरमा बसेको बैठकले १४ सदस्यीय केन्द्रीय कमाण्ड गठन गरेको समितिद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । केन्द्रीय कमाण्डको संयोजक प्रेम येक्तेन रहेका छन् ।

सदस्यहरूमा जीवन हताचो राई, तिलकप्रसाद राई, डकेन्द्र थेगीम, ग्याल्जे शेर्पा, गोपाल किराँती, कुमार लिङदेन ‘मिराक’, केपी पालुङवा, रमेश राई, पदम अधिकारी, भीम राई, बिराज आङदम्बे दीपक याक्खा, सञ्जय राई एवं माओवादी केन्द्र र नेकपा एसका प्रतिनिधि रहेका छन् ।

प्रदेशको राजधानी विराटनगरमा केन्द्रित आन्दोलनको नयाँ चरणको घोषणा हुने मङ्सिर २ गतेको 'विरोध प्रदर्शन तथा नयाँ चरणको आन्दोलनको घोषणा' सशक्त र व्यवस्थित हुने संयोजक येक्तेनले बताएका छन् ।

उनका अनुसार केन्द्रीय कमाण्ड अन्तर्गत विषयगत उपसमितिहरू गठन भएका छन् । प्रदेश १ का सबै जिल्लाहरूमा संयोजक र आन्दोलन तयारी समिति गठन गरिएको छ । आन्दोलनमा सबै जिल्लाको सक्रिय सहभागीताका लागि जिल्ला संयोजन समितिले भूमिका निर्वाह गर्नेछन् ।

आन्दोलनलाई शान्तिपूर्ण रूपमा प्रभावशाली ढङ्गले परिचालन गरिने उनले बताए । केन्द्रीय कमाण्डले दीर्घकालीन रूपमा आन्दोलन अघि बढाउन १ वर्षे कार्यक्रमको खाका मस्यौदा गर्न गोपाल किराँतीलाई जिम्मा दिएको छ ।

उक्त खाका सहित सङ्घर्ष समितिमा आबद्ध जातीय सङ्गठन र राजनीतिक दल सम्बद्ध सङ्गठनहरूको मस्यौदा भोली २१ गते बस्ने केन्द्रीय कमाण्डको बैठकमा प्रस्तुत हुने बताइएको छ । मस्यौदा माथि छलफल गरी सङ्घर्ष समितिको वार्षिक आन्दोलनको कार्यक्रम निश्चित गरिने बताइएको छ ।

कोशी नामकरण खारेजीको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा भएको विरोध जनप्रदर्शनमा सुरक्षाकर्मीको कुटाइबाट घाइते भएका पदम लिम्बु लाजेहाङको चैत्र १० गते मृत्यु भएको थियो । उनलाई सङ्घीय सरकारले शहिद घोषणा गरिसकेको छ ।

प्रदेशको पूनः नामाङ्कनको विषयमा सङ्घर्ष समितिको वार्ता टोली र प्रदेश सरकार बिच पटक पटक वार्ता भए पनि ठोस निष्कर्षमा नपुगी वार्ता भङ्ग हुँदै आएको छ ।

pradesh-namakaran