धरान : केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार धरानको नयाँ क्याम्पस नियुक्तिका लागि सञ्चालक समितिले ३ जनाको नाम त्रिभुवन विश्वविद्यालयमा सिफारिस गरेको छ ।

त्रिवि ऐन अनुसार सञ्चालक समितिको सोमवार बसेको २९ औँ बैठकले प्रा.डा.गणेशबहादुर थापा, प्रा. वसन्त कुमार राई र सहप्रा. बबिता अधिकारीको नाम सिफारिस गरेको क्याम्पसका सूचना अधिकारी ओमनाथ खतिवडाले सार्वजनिक गरेका छन् ।

क्याम्पस प्रमुख सहप्रा.डा. दिलकुमार लिम्बुको कार्यकाल सकिएपछि नयाँ क्याम्पस प्रमुख नियुक्तिको प्रक्रिया अघि बढेको हो । त्रिविको नयाँ मापदण्डको आधारमा यसअघि गठन गरिएको सर्च कमिटिले क्याम्पस प्रमुख लिम्बु सहित अङ्कको आधारमा ४ जनाको नाम सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

त्रिवि ऐन अनुसार सञ्चालक समितिले सिफारिस गरेको ३ जना मध्ये १ जनालाई त्रिविले क्याम्पस प्रमुख नियुक्त गर्नेछ । केन्द्रीय प्रविधि क्याम्पस स्वायत्ततामा गएको त्रिविको आङ्गिक क्याम्पसहरू मध्ये एक हो ।

पछिल्लो पटक त्रिविले क्याम्पस प्रमुखहरूको नियुक्तिका लागि नयाँ कार्यविधि लागु गरेको छ । कार्यविधि अनुसार सञ्चालक समितिले गठन गरेको सर्च कमिटिले प्रमुखको पदका दाबेदारहरूको आवेदन माग गर्दछ ।

उनीहरूले प्रस्तुत गरेको कार्ययोजना, प्रशासनिक क्षमता, अनुभव, अनुसन्धान लगायत १८ भन्दा बढी विषयमा सर्च कमिटिले मापदण्डमा तोकिएको अङ्क नबढाई अङ्क प्रदान गर्नेछ । सोही अङ्कको कुल जोडको आधारमा नामहरू सञ्चालक समितिलाई सिफारिस गर्दछ ।

सञ्चालक समितिको २८ औँ बैठकले संयोजक प्रा.डा ईश्वर कोइरालाको संयोजकत्वमा प्रभात कुमार श्रेष्ठ र नवीन गौतम रहेको ३ सदस्यीय सर्च कमिटी गठन गरेको थियो ।

सञ्चालक समितिका अध्यक्ष प्रा.डा. धनबहादुर कार्कीको सभापतित्वमा बसेको बैठकमा सर्च कमिटीद्वारा समितिमा प्रस्तुत शिलबन्दी सिफारिसको खाम कार्कीले खोलेका थिए । बैठक समापनमा अध्यक्ष प्राडा. कार्कीले सर्च कमिटीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बैठक सञ्चालन सदस्य सचिव क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले एवं सञ्चालन सहजीकरण सहायक क्याम्पस प्रमुख कामना बान्तवाले गरेकी थिइन । सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले स्वागत मन्तव्य दिएकी थिइन् ।