धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको सञ्चालक समितिको अध्यक्षमा प्राध्यापक डा. धनबहादुर कार्की नियुक्त भएका छन् । उनी क्याम्पसका अवकाश प्राप्त प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख हुन । सञ्चालक समितिका पूर्व अध्यक्ष प्राध्यापक पशुपति मिश्रको कार्यकाल सकिएपछि कार्की अध्यक्ष भएका हुन् ।
स्वायत्तता प्राप्त गरेका क्याम्पसहरूका सञ्चालक समितिको अध्यक्ष समितिका सदस्यहरूले चयन गरी त्रिभुवन विश्वविद्यालयलाई सिफारिस गर्ने नियम छ । स्वायत्तता सम्बन्धी सोही नियम अनुसार गएको असोजमा गठित सञ्चालक समितिले कार्कीको नाम सिफारिस गरेको थियो । नियमानुसार सिफारिस कार्कीलाई त्रिविले अध्यक्ष पदमा नियुक्त गरेको हो ।
अध्यक्ष कार्कीले शनिवार बसेको सञ्चालक समितिको २३ औँ बैठकबाट पद बहाली गरेका छन् । केन्द्रीय प्रविधि क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता प्राप्त क्याम्पस हो । स्वायत्तता सम्बन्धी नियम अनुसार गठित सञ्चालक समिति ३१ सदस्यीय छ। क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बु समितिको सदस्य सचिव छन् ।
पद बहालीको अवसरमा प्रा.डा. कार्कीले क्याम्पस त्रिविबाट स्वायत्त भएता पनि स्वायत्तताको अभ्यास नभई रहेको बताउँदै आफ्नो कार्यकालमा स्वायत्तता व्यवहारमा देखिने गरी कार्य गर्ने प्रतिबद्धता जनाए । क्याम्पस २०६२ देखी त्रिवि स्वायत्तता सम्बन्धी नियम अनुसार सञ्चालन हुँदै आएको छ ।
स्वायत्तताको नियम अनुसार क्याम्पसले आवश्यक विषयगत प्राध्यापक, कर्मचारी आफै नियुक्त गर्न सक्छ । त्यसको लागि गठन हुने ६ सदस्य पदपूर्ति समितिको अध्यक्ष सञ्चालक समितिले चयन गर्नेछ । शनिवारको बैठकमा लामो छलफलपछि सर्वसम्मत रूपमा अध्यक्ष प्रा.डा.कार्कीलाई नै पदपूर्ति समितिको अध्यक्ष पनि चयन गरिएको छ ।   
५० वर्षअघि व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्थापना भएको हात्तीसार क्याम्पस पछिल्लो कालखण्डमा खाद्य प्रविधिको केन्द्रीय क्याम्पसको रूपमा परिणत भएको थियो । त्रिविको आङ्गिक क्याम्पसहरूलाई स्वायत्तता प्रदान गर्ने नीति लागु भएपछि क्याम्पसमा कम्प्युटर साइन्स देखी विज्ञानका अन्य विषयहरूको पठनपाठन हुने गरेको छ । 
उक्त विषयहरूमा स्नातक तथा स्नातकोत्तर सम्म पढाई हुने हात्तीसार क्याम्पसमा हाल १ हजारको सङ्ख्यामा विद्यार्थीहरू छन् । नेपालमा खाद्य प्रविधि तथा विज्ञानको अन्य विषयहरू पढाई हुने क्याम्पसहरू मध्ये हात्तीसार क्याम्पस अग्रपङ्क्तिमा रहँदै आएको छ । भौतिक पूर्वाधार विश्वविद्यालय नै सञ्चालन हुनसक्ने अवस्था रहे पनि क्याम्पसले आर्थिक सङ्कटको सामना गर्नु परिरहेको क्याम्पस प्रमुख दिलकुमार लिम्बुले बताए ।
पद बहालीको अवसरमा नवनियुक्त सञ्चालक समिति अध्यक्ष प्राडा कार्कीलाई क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्यहरूले फुलमाला, अबिर लगाई हार्दिक स्वागत गरेका थिए ।
hattisar-committee