विराटनगर : अटिजम भएका बालबालिकाहरुलाई सामान्य बालबालिका जस्तो व्यवहार गर्ने बनाउन करुणा फाउण्डेशनले विराटनगर महानगरपालिकाको अटिजम सेवा केन्द्रसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । सेवा केन्द्रमा अटिजम भएका बालबालिकालाई फिजियो थेरापी, स्पीच थेरापी (बोल्न सिकाउने) कार्यक्रम सञ्चालन गर्नेछ । त्यहाँका जनशक्तिलाई तालिम दिनेछ ।

अटिजम भएका बालबालिकाको प्रोफाइल तयार गर्ने र बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान लगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सोमवार भएको द्विपक्षीय सम्झौतामा उल्लेख छ ।

महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्था  करुणा फाउण्डेसन नेपाल छनौट गरी दुई पक्षीय सम्झौता भएको हो ।

मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवले बताए । उनका अनुसार भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराउनेछ । भवन निर्माण गर्न करुणा फाउण्डेसनले सहजीकरण गर्नेछ ।

मेयर कोइरालाले अटिजम सेवा केन्द्र आफ्नो ड्रिम प्रोजेक्ट भएकाले यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । केन्द्र सञ्चालन गर्न महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस मध्ये ३० लाख रुपैयाँको लागतमा गत कात्तिकदेखि अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रकी संयोजक रश्मी निरौलाका अनुसार केन्द्र बिहान १० देखि २ बजेसम्म सञ्चालन भइरहेको छ ।हाल केन्द्रमा ३ बालिकासहित २० जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्याङ्क अनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।

केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचार सहित अध्ययन गराइन्छ ।