धरान : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको महाधिवेशन नहुँदा लोकतान्त्रिक पद्धतिबाट हुने नेतृत्व विकास अवरुद्ध भएको भन्दै दलका केन्द्रीय सदस्यहरूले असन्तुष्टि प्रकट गरेका छन् ।
तरुण दलका युवाहरूको नेतृत्व विकासकै लागि तरुण दल क्षेत्रीय समितीव्दारा आयोजित २ दिने ‘लिडरसिप’ प्रशिक्षण कार्यक्रममै उनीहरूले महाधिवेशन नभएकै कारण लिडरसिप अवरुद्ध भएकोमा असन्तुष्टि जनाएका हुन ।
तरुण दल क्षेत्रीय समितिको आयोजनामा राष्ट्र निर्माणका लागि तरुणहरूको योगदान ‘तरुण लिडरसिप’ कार्यक्रम आज मङ्गलवार काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले उद्घाटन गरेका हुन ।
कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बुले पार्टीले सधैँ युवाहरूलाई प्रयोग गरी उमेर खेर फालेको बताए । नेताहरूकै कारण तरुण दलको महाधिवेशन नभएको बताउँदै युवाहरूलाई झन्डा र दण्डामा मात्र प्रयोग गरेको बताए ।
तरुण दलको महाधिवेशन २०६४ साल यता भएको छैन । पटक पटक तोकिएका मिति सादै पार्टीद्वारा मनोनीत तदर्थ समितिबाट सङ्गठन सञ्चालन हुँदै आएको छ ।
मनोनीत प्रथाप्रति असन्तुष्टि जनाउँदै अर्का केन्द्रीय सदस्य प्रेम मुकारुङ राईले भने ‘तरुण दलमा टिके प्रथा अन्त्य हुनुपर्छ ।’ उनले लोकतान्त्रिक व्यवस्थामा अव तरुण दलमा मताधिकार प्रयोग गर्न मत दिने अधिकार प्रयोग गर्नु पर्नेमा जोड दिए ।
मुकारुङले भने ‘तरुणहरू पार्टीको नेताको चम्चे मात्र हुनुहुर्दैन, आत्मनिर्भर हुँदै स्वावलम्बी र जिम्मेवार हुनुपर्छ अनि मात्र भष्ट्रचारको अन्त्य हुन्छ ।’ युवाहरू पार्टी भित्रको अन्याय र अत्याचार र भष्ट्रचारको विरुद्ध बोल्न सक्नु पर्ने उनले बताए ।
अर्का केन्द्रीय सदस्य विशाल जङ्ग कार्कीले तरुण दललाई एक बनाउने जिम्मा पार्टीको भए पनि पार्टी नेतृत्वले नै तरुणलाई दुई ध्रुवमा बनाएको आरोप लगाए ।
विद्यार्थी नेता विनोद आले मगरले भने ‘विद्यार्थी र तरुणको महाधिवेशन नभएको कारण युवा र विद्यार्थीहरूको नेतृत्व विकाश रोकिएको छ ।’
तरुण दल क्षेत्रीय अध्यक्ष अजय राईले तरुणलाई पार्टीले झन्डा र दण्डा बोक्न मात्र प्रयोग ग¥यो भनेर मात्र बसेर हुँदैन कार्य क्षमता बढाए पार्टीले प्रयोग गर्न नसक्ने बताए ।
प्रमुख अतिथि मीन विश्वकर्माले तरुणहरू पार्टीको मेरुदण्ड भएको बताउँदै युवाहरूलाई पार्टीले प्रयोग नगरेको बताए । उनले भने ‘युवाहरू बिचार विहीन, स्वतन्त्रको नाममा स्वतन्त्र भएर, पार्टीको उद्देश्य विपरीत हिँडेकाले युवाहरू पलायन भएको साँचो हो तर तरुणलाई अवसर नदिएको भने होइन ।’
पार्टीको कुरा जनस्तर सम्म पुर्याउन तरुणलाई भरपर्दो माध्यमको रूपमा लिएर सङ्गठन निर्माण भएको उनले बताए । तरुण र विद्यार्थीमा काम गर्न चाहने साथीहरू समयमा महाधिवेशन गर्न नसकेको कारण मात्र उदासीन भएको कुरा सत्य भएको उनको भनाई थियो ।
केन्द्रीय सदस्य विश्वकर्माले तरुण दलको महाधिवेशन नभएको धेरै भएको भएको स्वीकार गदै अब आउँदो मसिर सम्म महाधिवेशन हुने कुरामा आफू विश्वस्त रहेको बताए । उनले भने ‘पटक पटक तदर्थ समिति बने पनि महाधिवेशन नभएकोले असार १६ गते अगाडि नै पार्टी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायको समितिले महाधिवेशनको कार्य तालिका घोषणा गर्नेछ ।’