इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र प्रशासन प्रमुख सञ्जिव खड्कालाई कारबाही गर्न सिफारिस भएको छ । बिहीबार उपमेयर सङ्गिता चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठक पछि कारबाहीको सिफारिस गरिएको हो ।
कार्यपालिका सदस्य तथा वडा नम्बर-९ का अध्यक्ष जितेन्द्र थापाका अनुसार कार्यालयको हित विपरीत गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरिएको हो । कार्यपालिका बैठकमा माइन्युट लुकाएको लगायत कारण देखाउँदै कारबाही गर्न लागिएको उनले बताए ।
मेयर हेमकर्ण पौडेल भारत भ्रमणमा रहेको समयमा उपमेयरले कार्यपालिका बैठक बोलाएकी हुन् । उपमेयरले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कारबाही गर्न अनुरोध गर्दै सिफारिस गरेकी छन् ।
मेयरले अध्यक्षता गर्ने बैठक उपमेयरले अध्यक्षता गर्नु र छोटो समयको कार्यवाहकको उपयोग गर्दै बैठकको वैधानिकता बारे प्रश्न उठेको छ ।